Nepal Purbadhar

उत्साहजनक रूपमा सकियो नाइमा एक्स्पो २०२६, एक लाख ८० हजारभन्दा बढीले गरे अवलोकन


काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको एक्स्पो साउन २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको थियो। नाइमाका अनुसार एक्स्पोको समापनका दिन मात्रै ३० हजारभन्दा बढीले अवलोकन गरेका छन्।

एक्स्पोको उद्घाटनका दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार तथा पाँचौँ दिन शनिबार ४२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए। नाइमाले ६ दिनमा डेढ लाख अवलोकनकर्ता आउने अपेक्षा गरेको भए पनि अपेक्षाभन्दा धेरैले एक्स्पो अवलोकन गरेका हुन्।

समापन कार्यक्रममा नाइमा अध्यक्ष रितु सिंह वैद्यले ५५ भन्दा बढी ब्रान्डको सहभागिता, एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ता र ५३ ओटा नयाँ उत्पादन सार्वजनिक हुनु एक्स्पोका प्रमुख उपलब्धि भएको बताइन्।

“यो एक्स्पो कुनै एक व्यक्ति वा संस्थाको मात्र सफलता होइन, नेपालको सम्पूर्ण गतिशीलता उद्योगको सामूहिक सफलता हो,” उनले भनिन्, “एक्स्पोमा नयाँ सवारीसाधन र प्रविधि प्रदर्शनसँगै ज्ञान र सिकाइलाई पनि प्राथमिकता दिएका थियौँ। एक्स्पो सवारीसाधन प्रदर्शन गर्ने मात्रै नभएर ज्ञान सिर्जना गर्ने मञ्च पनि बन्नुपर्छ भन्ने हाम्रो विश्वास हो।”

एक लाख ८० हजारभन्दा बढी मानिस एक्स्पोमा सहभागी हुनु नाइमा जस्तो युवा संस्थाका लागि ठूलो उत्साह र प्रोत्साहन भएको उनले बताइन्।

“यो अन्त्य होइन, सुरुवात हो। आगामी दिनमा अझ ठूलो, अझ राम्रो र अझ बलियो भएर अघि बढ्ने हाम्रो लक्ष्य छ,” उनले भनिन्।

नाइमाका बोर्ड सदस्य क्याबिनेट श्रेष्ठले एक्स्पोमा ठूलो संख्यामा मानिसको सहभागिता हुनु अटोमोबाइल उद्योगका लागि सुखद संकेत भएको बताए।

“नाइमा एक्स्पो सबै हिसाबले सफल भएको छ। अटोमोबाइल उद्योगकै लागि यो खुसीको विषय हो,” उनले भने।

अटो शो आयोजक समितिका अध्यक्ष गौरव शारडाले एक्स्पो अपेक्षा गरेभन्दा बढी सफल भएको बताए। उनका अनुसार एक्स्पोमा सोचेभन्दा धेरै अवलोकनकर्ता, राम्रो सोधपुछ र राम्रो बुकिङ भएको छ।

“हामीले अपेक्षा गरेभन्दा धेरै मानिसले मेला अवलोकन गरेका छन्। सोचेभन्दा धेरै अवलोकनकर्ता, राम्रो सोधपुछ र राम्रो बुकिङ भएको छ। हामी धेरै नै उत्साहित भएका छौँ,” उनले भने।

त्यस्तै, नाइमाको रणनीति तथा सदस्यता मामिला समितिका अध्यक्ष आकाश गोल्छाले नाइमा एक्स्पो अत्यन्त सफल भएको बताए।

“नाइमा एक्स्पोलाई एक शब्दमा बयान गर्ने हो भने त्यो शब्द हो– अत्यन्त सफल,” उनले भने।

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले बृहत् प्रदर्शनीसँगै सिकाइ सत्र, सहकार्य र मागकेन्द्रित व्यवस्थापनमा ध्यान दिँदै एक्स्पोको अवधारणालाई थप पुस्ट्याइएको बताए।

“अवलोकनकर्ताले देखाएको सन्तुष्टि नै नाइमा एक्स्पो सफलताको मापक हो,” उनले भने।

शिक्षा, सीप र उद्यमशीलतामा छलफल

एक्स्पोको समापनका दिन ‘प्रतिभा आयात, श्रमिक निर्यात : नेपालको शिक्षा, सीप र उद्यमशीलताको खाडल पुर्ने’ विषयमा नाइमा गतिशीलता संवाद आयोजना गरिएको थियो।

संवादमा प्रतिनिधिसभा सदस्य विदुषी राणा, नाइमाका बोर्ड सदस्य एवं पद्मज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योति, पद्मकन्या क्याम्पसकी सहायक प्राध्यापक भगवती सेडाइँ र थापाथली इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक लोचनकेन्द्र देवकोटा सहभागी थिए। कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सञ्जय सिलवाल गुप्ताले गरेका थिए।

शनिबार ‘कृत्रिम बौद्धिकता र सवारी प्रविधि : यातायातको भविष्य निर्माण’ विषयमा छलफल भएको थियो। शुक्रबार ‘ब्याट्री पुनःप्रशोधन र इन्धनमा इथानोल मिश्रण’ विषयमा प्राविधिक छलफल भएको थियो।

त्यस्तै, बिहीबार ‘वित्त तथा बीमामार्फत यातायात क्षेत्रलाई गतिशील बनाउने’ विषयमा छलफल तथा अन्तर्क्रिया भएको थियो। बुधबार ‘यातायात : हिजो, आज र भोलि’ विषयमा सिकाइ सत्र आयोजना गरिएको थियो।

एक्स्पोको पहिलो दिन ‘लगानी तथा प्रत्यक्ष वैदेशिक लगानी : आर्थिक वृद्धिका लागि गतिशीलताको इन्धन’ विषयमा छलफल भएको थियो।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले नाइमाले एक्स्पोको दोस्रो संस्करण आयोजना गरेको हो। एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।

एक्स्पोको सहप्रायोजकमा ग्लोबल आइएमई बैंक लिमिटेड रहेको थियो भने रेडबुल मुख्य प्रवर्धकका रूपमा रहेको थियो। बैंकिङ साझेदारमा एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड रहेका थिए। बीमा साझेदारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका थिए।


Read Previous

शिक्षित युवालाई स्वदेशमै अवसर दिन शिक्षा र उद्योगबीच सहकार्य आवश्यक

Read Next

आजदेखि डिलरमै पाईन्छ ग्यास, लाईन बस्नु नपर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar