Nepal Purbadhar

‘ब्लु बस’ महिलाको सुरक्षाका लागि हो विभाजन वा प्रचारको नीति होइन : मन्त्री सिता बादी


काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सरकारले सञ्चालन गर्न लागेको ‘ब्लु बस’ सेवा महिला र पुरुषबीच विभाजन सिर्जना गर्ने वा प्रचारमुखी कार्यक्रम नभई सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका सुरक्षा जोखिमलाई तत्काल सम्बोधन गर्ने उद्देश्यले अघि बढाइएको स्पष्ट पारेकी छन्।

राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री बादीले सार्वजनिक यातायातमा महिलाविरुद्ध हुने यौनजन्य दुर्व्यवहार, असुरक्षा, अत्यधिक भीडभाड तथा अन्य व्यावहारिक कठिनाइलाई ध्यानमा राखेर ‘ब्लु बस’ सेवा सञ्चालन गर्न लागिएको जानकारी दिइन्।

उनले यो सेवाले विद्यमान सार्वजनिक यातायात प्रणालीलाई प्रतिस्थापन नगर्ने र महिलालाई अन्य सार्वजनिक सवारीसाधन प्रयोग गर्न कुनै प्रतिबन्ध नलगाइने स्पष्ट पारिन्।

मन्त्री बादीका अनुसार समानताको अर्थ सबैलाई एउटै व्यवहार गर्नु मात्र नभई विशेष जोखिममा रहेका समूहलाई आवश्यक संरक्षण, सुविधा र अवसर उपलब्ध गराउनु पनि हो। यही संवैधानिक तथा नीतिगत मान्यताअनुसार ‘ब्लु बस’ सेवा अघि बढाइएको उनको भनाइ छ।

उनले सरकारको दीर्घकालीन लक्ष्य महिला र पुरुषलाई अलग–अलग यात्रा गराउनु नभई सबै नागरिकले एउटै सार्वजनिक यातायातमा सुरक्षित, सम्मानजनक र सहज रूपमा यात्रा गर्न सक्ने वातावरण निर्माण गर्नु रहेको बताइन्। त्यसका लागि महिलाको तत्काल सुरक्षा सुनिश्चित गर्ने लक्षित सेवा र सार्वजनिक यातायात प्रणालीको दीर्घकालीन सुधारलाई सँगसँगै अघि बढाइने उनले उल्लेख गरिन्।

काठमाडौं। मन्त्री बादीले गर्भवती महिला, साना बालबालिकासहित यात्रा गर्ने आमा, ज्येष्ठ महिला तथा अपाङ्गता भएका महिलाले भीडभाडयुक्त सार्वजनिक यातायातमा बढी कठिनाइ भोग्ने भएकाले उनीहरूको सुरक्षित आवागमन तथा शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सेवामा सहज पहुँच सुनिश्चित गर्न ‘ब्लु बस’ आवश्यक भएको बताइन्।

उनले ‘ब्लु बस’को उद्देश्य महिलालाई सार्वजनिक जीवनबाट अलग गर्नु नभई उनीहरूलाई सुरक्षित, सम्मानजनक र आत्मविश्वासका साथ शिक्षा, तालिम, रोजगारी, स्वास्थ्य सेवा तथा आर्थिक–सामाजिक गतिविधिमा सहभागी हुने वातावरण सिर्जना गर्नु रहेको स्पष्ट पारिन्।

मन्त्री बादीले सेवाको प्रभावकारिता, आवश्यकता, सञ्चालन अवस्था तथा दिगोपनाको नियमित समीक्षा गरी प्राप्त नतिजाका आधारमा आवश्यक सुधार गरिने जानकारी दिइन्।

उनका अनुसार सरकारले सार्वजनिक यातायातलाई सबैका लागि सुरक्षित, मर्यादित र पहुँचयुक्त बनाउन कानुनको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन, चालक तथा सहचालकलाई लैङ्गिक संवेदनशीलतासम्बन्धी तालिम तथा जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिरहेको छ।

साथै सार्वजनिक सवारीसाधनमा CCTV र Dashcam जडान, राइड सेयरिङ सेवामा SOS Button, प्रभावकारी गुनासो व्यवस्थापन प्रणाली तथा सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसाविरुद्ध कडा कानुनी कार्यान्वयनलाई सरकारले प्राथमिकतामा राखेको उनले बताइन्।

मन्त्री बादीले ‘ब्लु बस’ सेवा प्रचारमुखी घोषणा नभई महिलाले अहिले भोगिरहेका जोखिमको व्यावहारिक समाधान खोज्ने तथा सुरक्षित, लैङ्गिकमैत्री, समावेशी सार्वजनिक यातायात प्रणाली निर्माणतर्फको ठोस कदम भएको दोहोर्याइन्।


Read Previous

को बन्छ नागरिक लगानी कोषको कार्यकारी निर्देशक? ५ जना सर्टलिस्टमा

Read Next

ब्रड पिक हिमपहिरोमा निधन भएका पर्वतारोही पुरबहादुर गुरुङ ‘युक्ता’को शव नेपाल ल्याइयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar