
फाईल तस्बीर।
काठमाडौं । मध्य मनसुनको मौसममा पनि नेपालमा विदेशी पर्यटक आगमनमा सामान्य वृद्धि देखिएको छ। सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्।
नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या गत वर्षको सोही महिनाको तुलनामा २.३ प्रतिशतले बढी हो। सन् २०२५ को जुलाईमा नेपाल आउने विदेशी पर्यटकको संख्या ७० हजार १९३ रहेको थियो।
तथ्यांकअनुसार जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्। भारतबाट २३ हजार ४९० पर्यटक नेपाल आएका छन्, जुन कुल विदेशी पर्यटक आगमनको ३२.७३ प्रतिशत हो।
चिनियाँ पर्यटकको आगमनमा भने उल्लेखनीय वृद्धि भएको छ। जुलाईमा चीनबाट ११ हजार ९९ पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको जुलाईको तुलनामा ६१.०९ प्रतिशतले बढी हो।
नेपाल पर्यटन बोर्डका अनुसार चिनियाँ पर्यटक आगमन कोभिड–१९ महामारीअघिको स्तरसमेत पार गर्न थालेको छ। सन् २०१९ को जुलाईमा चीनबाट १० हजार २१५ पर्यटक नेपाल आएका थिए भने यस वर्षको जुलाईमा त्यो संख्या ८.६५ प्रतिशतले बढी रहेको छ।
जुलाईमा अमेरिकाबाट ७ हजार ७५४, बंगलादेशबाट ४ हजार १७९, बेलायतबाट ३ हजार ७७३ तथा अस्ट्रेलियाबाट २ हजार ४२८ पर्यटक नेपाल आएका छन्।
पर्यटन व्यवसायीहरूका अनुसार मनसुनका कारण जुलाईलाई सामान्यतया पर्यटकीय ‘अफ–सिजन’ मानिन्छ। त्यसबीच पनि विदेशी पर्यटक आगमनमा देखिएको वृद्धि र विशेषगरी चिनियाँ बजारको पुनरुत्थानले आगामी शरद् पर्यटन सिजनका लागि सकारात्मक संकेत दिएको छ।
नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन, हवाई सम्पर्क विस्तार तथा पर्यटन पूर्वाधार सुधारसँगै आगामी महिनाहरूमा पर्यटक आगमन थप बढ्ने अपेक्षा गरेको छ।

