
काठमाडौं । नवनियुक्त नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठले बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनाको पुननिर्माणलाइ प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक बनाएपछि नेपाल पूर्वाधार डट कमसंगको संक्षिप्त कुराकानीमा उनले बाढीका कारण क्षति भएका आयोजना पुननिर्माणको योजना बनाएर अघि बढ्ने बताए । ‘सरकारले विश्वास गरेर यति ठुलो जिम्मेवारी दिएको छ । भदौ १० बाढीले हामीलाई ठूलो क्षति गरेको छ । ४३० मेगावाट सिस्टमबाट आउट भएको छ।केहि आयोजना चल्न सक्ने छन् । प्रसारणलाइन बनाएर रिस्टोर गर्छौं,’ उनले भने, ‘हिउँदमा अपुग हुन सक्ने बिजुलीको जोखिमलाइ कम गरेर काम गर्छु । सरकारको नीति तथा कार्यक्रम र सर्भिस डेलिभरीमा ध्यान दिन्छु । सुशासनलाइ शिरमा राखेर काम गर्छु ।’
श्रेष्ठले प्राधिकरणको हितलाई ध्यानमा राखेर सर्वसाधरणमा सेवामा लागिपर्ने बताए । उनले प्राधिकरण सेवा गर्ने निकाय भएकाले त्यसमा ध्यान दिने बताए । कतै गुनासो नआउने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

