Nepal Purbadhar

दिल्लीमा अर्थमन्त्री वाग्ले, नेपाल-भारत आर्थिक साझेदारी बलियो बनाउन जोड


नयाँ दिल्ली। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन भौतिक, डिजिटल तथा ऊर्जा सञ्जालको विस्तार आवश्यक रहेको बताएका छन्।

भारतको औपचारिक भ्रमणमा रहेका वाग्लेले शुक्रबार नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच संवादलाई सम्बोधन गर्दै नेपाल-भारत सम्बन्धलाई समयसापेक्ष बनाउन आर्थिक तथा रणनीतिक सहकार्यलाई थप विस्तार गर्नुपर्ने बताए।

वाग्लेले नेपालमा हालै आएको बाढी तथा त्यसबाट भएको जनधनको क्षतिबारे चर्चा गर्दै संकटका बेला भारत सरकार र जनताले गरेको सहयोगप्रति आभार व्यक्त गरे। उनले विपद्पछिको पुनर्निर्माणलाई दिगो र सुरक्षित बनाउन नेपालले ‘बिल्ड ब्याक बेटर’ अवधारणालाई अघि बढाइरहेको जानकारी दिए।

जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि हिमाली तथा तटीय पारिस्थितिकीय प्रणालीमा यसको असर गम्भीर रहेको उल्लेख गर्दै उनले नेपाल र भारतले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको विषयलाई संयुक्त रूपमा अघि बढाउनुपर्ने बताए।

उनले परम्परागत सहायता प्रणालीभन्दा माथि उठेर विकास वित्त, हरित वित्त तथा सहुलियतपूर्ण वित्तीय उपकरणको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए।

व्यापार र लगानी विस्तारमा जोड

अर्थमन्त्री वाग्लेले नेपाल-भारत व्यापार सन्धिमा समयानुकूल सुधार गर्दै व्यापार घाटा न्यूनीकरण र गैर-भन्सार अवरोध हटाउनुपर्ने बताए।

नेपालमा लगानीको वातावरण सुधार गर्न नीतिगत तथा कानुनी सुधार अघि बढाइएको उल्लेख गर्दै उनले ऊर्जा, उत्पादनमूलक उद्योग तथा प्रविधिको क्षेत्रमा भारतीय प्रत्यक्ष वैदेशिक लगानी बढाउन भारतीय पक्षलाई आग्रह गरे।

नेपाल-भारत आर्थिक सम्बन्धमा व्यापार, लगानी, ऊर्जा र कनेक्टिभिटीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको छ। वाग्लेले बिहीबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँगको भेटमा पनि द्विपक्षीय आर्थिक सम्बन्ध, व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी र बाढीपछिको पुनर्निर्माणबारे छलफल गरेका थिए।

सुशासन र आर्थिक रूपान्तरणमा जोड

वाग्लेले वर्तमान सरकार नेपाली जनताको विकास र आर्थिक रूपान्तरणको आकांक्षा पूरा गर्न केन्द्रित रहेको बताए।

उनले नीतिगत स्थायित्व र संस्थागत सुधारमार्फत विकासको आधार तयार पार्ने तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुशासन कायम गर्ने सरकारको प्राथमिकता रहेको बताए।

गोलमेच संवादमा भारतका वरिष्ठ राजनीतिज्ञ, कूटनीतिज्ञ, रणनीतिकार, अर्थशास्त्री तथा विज्ञहरूको सहभागिता थियो।

कार्यक्रममा भारतका पूर्वविदेश सचिव तथा नेपालका लागि पूर्वराजदूत श्याम शरण, भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता तथा राज्यसभा सदस्य जयराम रमेश, पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन, पूर्वउप-राष्ट्रिय सुरक्षा सल्लाहकार पंकज शरण, अर्थशास्त्री तथा जेएनयूका एमेरिटस प्रोफेसर दीपक नायर, भारत व्यापार प्रवर्द्धन संगठनका अध्यक्ष जावेद अशरफ, नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित राय, भाजपा विदेश मामिला विभागका प्रमुख विजय चौथाइवालेलगायत सहभागी थिए।

छलफलमा नेपाल-भारत सम्बन्धलाई थप परिणाममुखी बनाउन कनेक्टिभिटी, ऊर्जा सहकार्य, व्यापार तथा लगानी विस्तार र पारस्परिक विश्वासलाई बलियो बनाउने विषयमा जोड दिइएको थियो।

वाग्ले भारत भ्रमणका क्रममा शनिबार निजी क्षेत्र तथा अन्य उच्चस्तरीय प्रतिनिधिसँग पनि छलफल गर्ने कार्यक्रम छ।


Read Previous

विश्वकर्मा पूजाका मूर्ति विसर्जन गर्न कोसी कटानमा भक्तजनको भिड

Read Next

बाढीले क्षति गरेका जलविद्युत आयोजना पुनर्निर्माणलाई प्राथमिकता दिन्छु : श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar