Nepal Purbadhar

राष्ट्र निर्माणमा दक्ष, इमानदार र उत्तरदायी इन्जिनियरको भूमिका निर्णायक: ऊर्जामन्त्री श्रेष्ठ


काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले राष्ट्रको समृद्धि, पूर्वाधार विकास र सार्वजनिक सेवाको गुणस्तर दक्ष, इमानदार तथा उत्तरदायी इन्जिनियरहरूको भूमिकामा निर्भर रहने बताएका छन्।

जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रले आयोजना गरेको नवप्रवेशी युवा इन्जिनियरहरूको तालिम कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारी सेवामा प्रवेश गर्नु केवल जागिरको सुरुआत नभई राष्ट्र निर्माणको अभियानमा आफूलाई समर्पित गर्ने ऐतिहासिक अवसर भएको बताए।

उनले नवप्रवेशी इन्जिनियरहरू अब केवल प्राविधिक जनशक्ति नभई राष्ट्रसेवकको भूमिकामा प्रवेश गरेको उल्लेख गर्दै प्रत्येक निर्णय, प्राविधिक सुझाव, हस्ताक्षर र कार्यले लाखौँ नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले उच्च जिम्मेवारीबोधका साथ काम गर्नुपर्नेमा जोड दिए।

‘इन्जिनियरिङ केवल संरचना निर्माण होइन, भविष्य निर्माण पनि हो’

मन्त्री श्रेष्ठले कुनै पनि राष्ट्रको विकास, सभ्यता र समृद्धिको इतिहास इन्जिनियरहरूको सिर्जनशीलता, अनुसन्धान, अनुशासन र अथक परिश्रमसँग जोडिएको बताए।

उनका अनुसार सडक, पुल, विद्युत् आयोजना, प्रसारण लाइन, जलाशय, सिँचाइ प्रणाली, खानेपानी पूर्वाधार, औद्योगिक संरचना तथा आधुनिक सहरहरूको निर्माण इन्जिनियरहरूको दूरदृष्टि र क्षमताको परिणाम हो।

इन्जिनियरिङलाई उनले गणित र विज्ञानको प्रयोगमा मात्र सीमित नभई समस्यालाई समाधानमा रूपान्तरण गर्ने सिर्जनात्मक क्षमता भएको क्षेत्रका रूपमा व्याख्या गरे। सफल इन्जिनियरले संरचना मात्र निर्माण नगरी अवसर, विश्वास र भविष्य निर्माण गर्ने भएकाले उनीहरूको भूमिका राष्ट्र विकासमा अत्यन्त महत्वपूर्ण रहेको उनको भनाइ थियो।

ऊर्जा र जलस्रोत विकासमा इन्जिनियरको भूमिका अपरिहार्य

नेपाल अहिले ऊर्जा उत्पादन विस्तार, स्वच्छ ऊर्जाको प्रवर्द्धन, अन्तरदेशीय विद्युत् व्यापार, सिँचाइ विस्तार, जलस्रोतको समुचित उपयोग तथा जलवायु परिवर्तनअनुकूल पूर्वाधार निर्माणको नयाँ चरणमा रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले यी महत्वाकांक्षी लक्ष्यहरू नीति र बजेटले मात्र नभई दक्ष, प्रतिबद्ध र इमानदार प्राविधिक जनशक्तिको योगदानबाट मात्र पूरा हुने स्पष्ट पारे।

उनले सरकारी सेवामा ज्ञानसँगै चरित्रको पनि उत्तिकै महत्व हुने उल्लेख गर्दै प्राविधिक दक्षताभन्दा पनि नैतिक साहस कहिलेकाहीँ अझ महत्वपूर्ण बन्ने बताए।

“सहज र सहीमध्ये कुनै एक रोज्नुपर्ने अवस्था आए सही बाटो रोज्ने साहस नै सच्चा राष्ट्रसेवकको पहिचान हो,” उनले भने।

‘विश्वास नै इन्जिनियरको सबैभन्दा ठूलो सम्पत्ति’

मन्त्री श्रेष्ठले इन्जिनियरको सबैभन्दा ठूलो सम्पत्ति प्रमाणपत्र नभई समाजले गर्ने विश्वास भएको उल्लेख गर्दै पारदर्शिता, उत्तरदायित्व, निष्पक्षता र सार्वजनिक हितलाई कार्यसंस्कृतिको केन्द्रमा राख्न आग्रह गरे।

जनताको सरकारप्रतिको विश्वास राष्ट्रसेवकको इमानदार व्यवहारबाट निर्माण हुने भएकाले प्रत्येक कर्मचारीले उच्च नैतिक आचरण कायम गर्नुपर्नेमा उनले जोड दिए।

नयाँ प्रविधि आत्मसात् गर्न आग्रह

विश्वभर तीव्र गतिमा विकसित भइरहेको प्रविधिले इन्जिनियरिङको स्वरूप परिवर्तन गरिरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले निरन्तर अध्ययन, अनुसन्धान र नयाँ प्रविधिको आत्मसात् नगरी भविष्यका चुनौती सामना गर्न नसकिने बताए।

उनले आज प्राप्त ज्ञानलाई नियमित रूपमा अद्यावधिक गर्दै नवप्रवर्तनमुखी सोच विकास गर्नुपर्ने आवश्यकता औँल्याए।

नेपालका स्रोत सीमित भए पनि सोच र सिर्जनशीलता सीमित हुन नहुने उल्लेख गर्दै स्थानीय ज्ञान, परम्परागत सीप र आधुनिक प्रविधिको प्रभावकारी संयोजनमार्फत भौगोलिक चुनौतीलाई विकासको अवसरमा रूपान्तरण गर्न सकिने विश्वास व्यक्त गरे।

कम लागतमा उच्च गुणस्तरका पूर्वाधार निर्माण, जलवायु परिवर्तनअनुकूल डिजाइन, हरित ऊर्जा, ऊर्जा दक्षता, डिजिटल प्रविधि तथा दिगोपनलाई विकासको आधार बनाउनुपर्नेमा उनले विशेष जोड दिए।

गुणस्तरमा सम्झौता नगर्न निर्देशन

मन्त्री श्रेष्ठले पूर्वाधार निर्माणमा गुणस्तरप्रति कुनै सम्झौता गर्न नहुने स्पष्ट पार्दै डिजाइनदेखि कार्यान्वयन, सुपरिवेक्षणदेखि परीक्षणसम्म प्रत्येक चरणमा उच्च मापदण्ड कायम गर्न निर्देशन दिए।

सानो लापरबाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले प्राविधिक मापदण्ड र व्यावसायिक नैतिकतालाई कडाइका साथ पालना गर्न उनले आग्रह गरे।

सम्बोधनको अन्त्यमा मन्त्री श्रेष्ठले देशले नयाँ पुस्ताका इन्जिनियरहरूबाट प्राविधिक दक्षतासँगै नवीन सोच, नेतृत्व क्षमता, सकारात्मक ऊर्जा र परिणाममुखी कार्यशैलीको अपेक्षा गरेको उल्लेख गर्दै समर्पण, इमानदारी र उत्कृष्ट कार्यसम्पादनका साथ राष्ट्रसेवामा अघि बढ्न प्रेरित गरे।


Read Previous

जुलाईमा भित्रिए ७१ हजार ७७५ पर्यटक, भारतीय सबैभन्दा धेरै, चिनियाँ आगमन ६१% ले बढ्यो

Read Next

साँस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे ३ करोड अनुदान, कार्यविधिमाथि छलफल सुरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar