सुनसरी। विश्वकर्मा पूजाका लागि हिजो बनाइएका माटाका मूर्ति विसर्जन गर्न आज सुनसरीको कोसी गाउँपालिका-३ स्थित कोसी कटानमा भक्तजनको भिड लागेको छ।

विश्वकर्मा पूजा गरेपछि माटाका मूर्ति विभिन्न जलाशय तथा नदीमा विसर्जन गर्ने परम्परा रहेकाले सुनसरीका विभिन्न क्षेत्रबाट भक्तजन मूर्ति लिएर कोसी कटान पुगेका हुन्। इटहरी, इनरुवा, दुहवी, गढी, हरिनगर, देवानगञ्ज र भोक्राहा नरसिंहलगायत क्षेत्रबाट भक्तजन मूर्ति विसर्जन गर्न आएका छन्।

यस वर्ष सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै जोखिमसमेत बढेकाले मूर्ति विसर्जनमा सुरक्षाका दृष्टिले कडाइ गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार कोसीमा पानीको बहाव बढेका कारण जोखिम बढ्ने भएकाले ब्यारेज क्षेत्रमा मूर्ति विसर्जनमा कडाइ गरी भक्तजनलाई कोसी कटानतर्फ पठाइएको हो।

सप्तकोसी ब्यारेज पारि सप्तरी क्षेत्रमा समेत मूर्ति विसर्जनमा कडाइ गरिएपछि कोसी कटानमा भक्तजनको भिड बढेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार आज बिहानैदेखि मूर्ति विसर्जनका लागि भक्तजनको ताँती लागेको छ। दिनभरिमा कोसी कटान क्षेत्रमा करिब एक हजार ओटा मूर्ति विसर्जन भएको स्थानीयको दाबी छ।



