Nepal Purbadhar

भेरी करिडोरमा अस्थायी संरचना निर्माणपछि सवारी सञ्चालन

फाइल तस्बीर।


सुर्खेत। भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडकखण्डमा पर्ने रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-६ स्थित रिजीगार र उसुम खोलामा अस्थायी संरचना निर्माण गरेपछि सवारीसाधन सञ्चालनमा आएको छ।

भेरी करिडोर आयोजनाका प्रमुख नरेशकुमार केसरीका अनुसार पुल निर्माणको ठेक्का प्रक्रिया अघि बढिसके पनि वर्षायाम सुरु भई खोलामा पानीको बहाव बढेपछि यातायात अवरुद्ध हुन नदिन दुवै खोलामा अस्थायी संरचना निर्माण गरी सवारी सञ्चालन गरिएको हो।

उनका अनुसार रमण निर्माण सेवाले आयोजनासँग गत जेठ ७ गते सम्झौता गरेर अस्थायी संरचना निर्माणको काम सम्पन्न गरेको हो। खोलामा ह्युम पाइप जडानसहित आवश्यक संरचना निर्माण गरिएको छ।

यसअघि यी खोलामा पुल नहुँदा डोल्पा आवतजावत गर्ने सवारीसाधनलाई निकै कठिनाइ हुने गरेको थियो। आयोजनाका अनुसार स्थायी पुल निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ भने केही दिनभित्र निर्माण सम्झौता हुने अपेक्षा गरिएको छ।

भेरी करिडोर आयोजनाअन्तर्गत रिजीगार र उसुम खोलासहित अन्य ११ स्थानमा पनि पुल निर्माणका लागि ठेक्का लागिसकेको आयोजना कार्यालयले जनाएको छ। स्थायी पुल निर्माण सम्पन्न भएपछि वर्षायाममा समेत जाजरकोट-डोल्पा सडकखण्डमा यातायात सञ्चालन थप सहज र सुरक्षित हुने विश्वास गरिएको छ।


Read Previous

चितवनमा टोयोटाको अत्याधुनिक ३एस सेवा विस्तार, नारायणगढमा नयाँ शोरुम सञ्चालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar