
काठमाडौं । नेपालमा टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) प्रालिले चितवनमा आफ्नो सेवा सञ्जाल विस्तार गरेको छ। कम्पनीले अटोवेज पोखरा प्रालिलाई आधिकारिक डिलर नियुक्त गर्दै नारायणगढमा अत्याधुनिक ३एस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधा सहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको हो।
नयाँ केन्द्रमार्फत ग्राहकले टोयोटा गाडी खरिद, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको मर्मत सेवा तथा जेन्युइन स्पेयर पार्ट्स एउटै स्थानबाट सहज रूपमा प्राप्त गर्न सक्नेछन्। कम्पनीका अनुसार यस सेवाबाट चितवन, नवलपुर, मकवानपुर तथा आसपासका जिल्लाका ग्राहकले छिटो, भरपर्दो र गुणस्तरीय सेवा पाउनेछन्।

उद्घाटन समारोहमा अटोवेज पोखरा प्रालिका अध्यक्ष नारायणप्रसाद पौडेलले ग्राहकको विश्वास कम्पनीको सबैभन्दा ठूलो सम्पत्ति भएको बताए। सन् २०११ देखि भरतपुरमा सेवा दिँदै आएको अटोवेजले विगत १५ वर्षमा ग्राहकसँग बलियो सम्बन्ध स्थापित गरेको उल्लेख गर्दै उनले नयाँ ३एस सुविधा उत्कृष्ट स्वामित्व अनुभव र प्रभावकारी बिक्रीपछिको सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको बताए।
उनले उद्योग, यातायात र कृषि क्षेत्रको तीव्र विकाससँगै चितवन नेपालको सम्भावनायुक्त अटोमोबाइल बजारमध्ये एक बनेको उल्लेख गर्दै विश्वस्तरीय सेवा उपलब्ध गराउनु कम्पनीको प्राथमिकता रहेको बताए।

कार्यक्रममा वैद्य अर्गनाइजेशन अफ इन्डस्ट्रिज (भीओआई) का अध्यक्ष सुरज वैद्यले टोयोटाको सेवा विस्तार ग्राहकप्रतिको दीर्घकालीन प्रतिबद्धताको निरन्तरता भएको बताए। गुणस्तर, सुरक्षा, टिकाउपन र विश्वासकै कारण टोयोटाले विश्वव्यापी पहिचान बनाएको उनको भनाइ थियो।
कम्पनीका अनुसार चितवनमा स
ञ्चालनमा आएको अत्याधुनिक ३एस सुविधा यस क्षेत्रका ग्राहकका लागि महत्वपूर्ण उपलब्धि हुनेछ। अब चितवनका ग्राहकले बिक्री तथा बिक्रीपछिको अन्तर्राष्ट्रियस्तरको सेवा आफ्नै शहरबाट प्राप्त गर्न सक्नेछन्। साथै, यसले चितवनको तीव्र रूपमा विस्तार भइरहेको अटोमोबाइल बजारलाई थप गतिशील बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।
