Nepal Purbadhar

वितरण प्रणाली सुधार र ग्राहक सेवालाई प्राथमिकता दिन ऊर्जा मन्त्रीको निर्देशन


काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत् सेवाको गुणस्तर सुधार, वितरण प्रणालीलाई थप भरपर्दो बनाउने तथा ग्राहक सेवालाई प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्।

बिहीबार नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रदेश तथा डिभिजन प्रमुखहरूसँग भर्चुअल छलफल गर्दै मन्त्री श्रेष्ठले विद्युत् सेवालाई दिगो, सुरक्षित र भरपर्दो बनाउन वितरण प्रणाली चुस्त राख्नुपर्नेमा जोड दिए।

उनले पछिल्ला दिनमा देशका विभिन्न क्षेत्रमा देखिएको विद्युत् आपूर्ति समस्याको कारण र समाधानबारे जानकारी लिँदै वितरण प्रणालीमा सुधार र ग्राहक सेवालाई उच्च प्राथमिकतामा राख्न आग्रह गरे।

मन्त्री श्रेष्ठले विद्युत् कटौती, मर्मतसम्भार तथा अन्य प्राविधिक कारणले सेवा प्रभावित हुने अवस्थाबारे ग्राहकलाई सार्वजनिक सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत पूर्वसूचना दिनुपर्ने, ग्राहकका गुनासो तत्काल सम्बोधन गर्नुपर्ने तथा सेवाप्रदायक निकाय थप जवाफदेही बन्नुपर्ने बताए। उनले विद्युत् सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धिमा पनि विशेष ध्यान दिन निर्देशन दिए।

आगामी आर्थिक वर्षको बजेट तयारी भइरहेका बेला वितरण प्रणाली सुधारका लागि आवश्यकता र औचित्यका आधारमा बजेट प्रस्ताव तथा कार्यान्वयन योजना तयार गर्न उनले प्राधिकरणलाई आग्रह गरे। उपकरणहरूको मौज्दात कानुनी व्यवस्थाअनुसार कायम गर्नुपर्ने र त्यसका लागि केन्द्रीय कार्यालयले आवश्यक सहजीकरण गर्नुपर्ने उल्लेख गर्दै सीमित स्रोत–साधनलाई प्राथमिकताका आधारमा परिचालन गर्नुपर्नेमा जोड दिए।

ट्रान्सफर्मरलगायत विद्युतीय उपकरणको गुणस्तरबारे विभिन्न तहबाट प्रश्न उठिरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले मन्त्रालयले यस विषयमा सूक्ष्म अध्ययन गरिरहेको र गुणस्तरमा कुनै पनि हालतमा सम्झौता नगर्न निर्देशन दिए।

विद्युत् सेवा नागरिकको दैनिक जीवन र आधारभूत आवश्यकतासँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै उनले प्राविधिक तथा व्यवस्थापकीय सुधार तत्काल सुरु गर्न नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक तथा सम्बन्धित निर्देशनालयका प्रमुखलाई स्पष्ट निर्देशन दिए।

सरकारले विद्युत्को आन्तरिक खपत बढाउने रणनीति कार्यान्वयन गरिसकेको उल्लेख गर्दै उनले आपूर्ति प्रणालीको विश्वसनीयता सुनिश्चित गर्न आवश्यक नीतिगत सुधार वा अधिकार प्रत्यायोजनसम्बन्धी प्रस्ताव भए मन्त्रालयमा लिखित रूपमा पेश गर्न आग्रह गरे। मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

सरकारले लागू गरेको ऊर्जा आपत् रणनीतिको पहिलो चरण काठमाडौं उपत्यकाबाट कार्यान्वयन गरिने भएकाले त्यसअनुसार आवश्यक संरचनागत तयारी गर्न पनि उनले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिए।

छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता कुमारी दवाडीले सिँचाइ सुविधा विस्तार सरकारको प्राथमिकतामा रहेको बताउँदै प्रदेश र स्थानीय तहसँग समन्वय गरी नेपाल विद्युत् प्राधिकरण तथा सिँचाइ कार्यालयहरूले किसानलाई कृषि मिटर उपलब्ध गराउने र कृषि उत्पादकत्व वृद्धि गर्न सहकार्य गर्नुपर्नेमा जोड दिइन्।


Read Previous

धमाधम निजीक्षेत्रलाई भेट्दै बालेन, आज ऊर्जा क्षेत्रका उद्यमीसँग छलफलमा

Read Next

माकलबारीमा ग्यास सिलिन्डर र फायर एक्स्टिङ्ग्विसर विस्फोट, एक जनाको ज्यान गयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar