
भक्तपुर। दहीचिउरा खाने पर्वका रूपमा मनाइने असार १५ का अवसरमा भक्तपुरमा प्रसिद्ध जुजु धौ उत्पादन बढाइएको छ। पर्वका बेला माग अत्यधिक हुने भएकाले स्थानीय व्यवसायीहरू बिहानैदेखि उत्पादनमा व्यस्त छन्।
भक्तपुर८, च्याम्हासिंहस्थित सैजु जुजु धौमा सामान्य दिनको तुलनामा धेरै परिमाणमा दूध जमाएर जुजु धौ तयार गरिएको छ। उत्पादकका अनुसार पर्वको माग धान्न ताजा दूधलाई आवश्यक तापक्रममा उमालेर चिस्याइन्छ र त्यसपछि प्लास्टिकका बट्टा तथा परम्परागत माटाका भाँडामा राखेर निश्चित तापक्रममा करिब पाँचदेखि छ घण्टासम्म जमाइन्छ। यसरी तयार भएको दूध स्वादिष्ट र गाढा जुजु धौमा परिणत हुन्छ।
व्यवसायीका अनुसार माटाका भाँडाले अतिरिक्त चिस्यान सोस्ने भएकाले जुजु धौको स्वाद, गाढापन र गुणस्तर अझ उत्कृष्ट हुन्छ। यही परम्परागत उत्पादन विधि र शुद्ध दूधको प्रयोगले भक्तपुरको जुजु धौलाई देशभर विशेष पहिचान दिलाएको छ।
असार १५ मा दहीचिउरा खाने नेपाली परम्परासँगै जुजु धौको माग हरेक वर्ष उल्लेख्य रूपमा बढ्ने गरेको छ। यही कारण बजारको आवश्यकता पूरा गर्न उत्पादन बढाइएको व्यवसायीहरूले बताएका छन्।
नेवारी संस्कृतिमा जुजु धौ विशेष महत्वको परिकार मानिन्छ। जन्मोत्सव, शुभकार्य, यात्रा, सफलता तथा कुनै ठूलो विपत्तिबाट सुरक्षित फर्किएपछि दिइने ‘सगुन’देखि विभिन्न भोजसम्म दहीको प्रयोग अनिवार्यजस्तै हुने परम्परा छ।
हाल भक्तपुरमा करिब पाँच दर्जन जुजु धौ व्यवसायी सक्रिय रहेका छन्। परम्परागत स्वाद, शुद्धता र गुणस्तरका कारण भक्तपुरको जुजु धौ नेपालीहरूको पहिलो रोजाइमध्ये एक बन्दै आएको छ।

