
लुम्बिनी। रुपन्देही प्रहरीले भन्सार छली गरेर भारतबाट नेपाल भित्र्याइएका करिब २४ लाख रुपैयाँ बराबरका आईफोन बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नियमित गस्तीमा खटिएको प्रहरी टोलीले ओमसतिया गाउँपालिका–४ सानो बालापुर क्षेत्रमा शंकास्पद अवस्थामा रहेका विभिन्न मोडलका एप्पल कम्पनीका आईफोन बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बरामद गरिएका मोबाइल फोनको अनुमानित मूल्य २३ लाख ९० हजार रुपैयाँ रहेको छ।
प्रहरीले बरामद गरिएका मोबाइल सेट आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरेको जनाएको छ। घटनामा संलग्न व्यक्ति तथा भन्सार छलीको सञ्जालबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
