Nepal Purbadhar

बिजुलीको जिल्ला लमजुङमा बर्खायाम शुरू भएसँगै विद्युत् उत्पादन बढ्यो


लमजुङ। बर्खायाम शुरू भएसँगै लमजुङका विभिन्न जलविद्युत् आयोजनामा विद्युत् उत्पादन बढ्न थालेको छ। हिउँदमा पानीको अभावका कारण क्षमताभन्दा कम उत्पादन गरिरहेका आयोजनाहरू अहिले नदी तथा खोलामा पानीको बहाव बढेपछि पूर्ण क्षमतानजिक पुगेका छन्।

बेँसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् आयोजनाले करिब दुई सातायता पूर्ण क्षमतामा विद्युत् उत्पादन गरिरहेको छ। हिउँदमा उत्पादन २६–२७ मेगावाटमा सीमित भए पनि मस्र्याङ्दी नदीमा पर्याप्त पानी आउन थालेपछि आयोजनाले ७० मेगावाट उत्पादन गर्न थालेको हो।

यस्तै, मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेस्थित ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले पनि केही दिनदेखि पूर्ण क्षमतामा उत्पादन गरिरहेको जनाएको छ।

जिल्लाका ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’, ३० मेगावाटको न्यादी हाइड्रोपावर, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको अपर दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१, सात मेगावाटको उपरमिदिम, पाँच मेगावाटको सिउरीखोला र ४.४ मेगावाटको राँधीखोलालगायत आयोजनामा पनि उत्पादन वृद्धि भएको छ।

त्यस्तै, खुदीखोला, अपर छन्दीखोला, मिदिमखोला, अपर स्याँगे खोला, छन्दीखोला तथा विभिन्न माइक्रोहाइड्रो आयोजनाले समेत बढी विद्युत् उत्पादन गर्न थालेका छन्।

लमजुङका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। बर्खामा पानीको बहाव बढेसँगै उत्पादन वृद्धि हुँदा देशको विद्युत् आपूर्तिमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।


Read Previous

भारत-अमेरिका व्यापार सम्झौता अन्तिम चरणमा, भन्सार दर र कृषि उत्पादनमा शुल्क हेरफेर हुने अपेक्षा

Read Next

स्क्याफ नेपालद्वारा आयोजित नेपाल इन्जिनियरिङ परिषद्बाट मान्यता प्राप्त पहिलो सीपीडी तालिम सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar