
काठमाडौं। निर्माण क्षेत्रमा देखिने ठेक्का व्यवस्थापन, दाबी, भुक्तानी, जोखिम नियन्त्रण तथा विवाद समाधानसम्बन्धी व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने तालिम काठमाडौंमा सम्पन्न भएको छ। सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म्स (एससीएईएफ) नेपालले आयोजना गरेको उक्त कार्यक्रम नेपाल इन्जिनियरिङ परिषद् (एनईसी) बाट मान्यता प्राप्त देशकै पहिलो कन्टिन्युइङ प्रोफेसनल डेभलपमेन्ट (सीपीडी)तालिम हो।
एससीएईएफ नेपालले निर्माण व्यवसाय विकास कार्यान्वयन समिति (सीबीडीआईसी) तथा नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) सँगको सहकार्यमा ‘एफआईडीआईसी रेड बुक २०१७ अन्तर्गत ठेक्का व्यवस्थापन’ विषयक तालिम असार ८ देखि १० गतेसम्म सञ्चालन गरेको थियो। तालिम बुधबार सम्पन्न भएको हो।
तालिममा निर्माण क्षेत्रसँग सम्बन्धित सरकारी निकाय, परामर्शदाता, निर्माण व्यवसायी, परियोजना व्यवस्थापक तथा खरिद एवं करार प्रशासनमा कार्यरत पेशाकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा एफआईडीआईसी रेड बुक २०१७ अन्तर्गत जोखिम बाँडफाँट, परिवर्तन तथा समायोजन, इन्जिनियरको भूमिका, समय विस्तार, भुक्तानी, मूल्य समायोजन, बिमा, दाबी व्यवस्थापन, ठेक्का अभिलेख तथा विवाद निराकरणसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
आयोजकका अनुसार तालिमले निर्माण क्षेत्रका सरोकारवालालाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार करार व्यवस्थापन र परियोजना कार्यान्वयनका जटिल पक्षबारे व्यावहारिक ज्ञान हासिल गर्न सहयोग पुर्याएको छ। सहभागीहरूले पनि करार जोखिम, दाबी व्यवस्थापन, भुक्तानी प्रक्रिया तथा विवाद न्यूनीकरणसम्बन्धी अनुभव आदानप्रदान गरेका थिए।
तालिम नेपाल इन्जिनियरिङ परिषद्बाट मान्यता प्राप्त पहिलो सीपीडी कार्यक्रम भएकाले सहभागी इन्जिनियरहरूले सीपीडी आवरसमेत प्राप्त गरेका छन्। यस्ता तालिमले इन्जिनियरहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्नुका साथै दर्ता तथा इजाजतपत्र नवीकरणसम्बन्धी आवश्यकताहरू पूरा गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इन्जिनियरिङ मापदण्डसँग अद्यावधिक रहन सहयोग पुग्ने विश्वास गरिएको छ।
समापन समारोहमा एससीएईएफ नेपालका अध्यक्ष ठाकुरप्रसाद शर्मा नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा. डा. पद्मबहादुर शाही तथा नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त पनि सहभागी थिए।
एससीएईएफ नेपालले आगामी दिनमा पनि निर्माण तथा परामर्श क्षेत्रका पेशाकर्मीहरूको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
