
काठमाडौँ । अमेरिका र इरानबीच मध्यपूर्व युद्धसँग सम्बन्धित नयाँ चरणको वार्ता आज स्विट्जरल्याण्डको जेनेभामा शुरू हुँदैछ। वार्तामा सहभागी हुन इरानी प्रतिनिधिमण्डल जेनेभा पुगिसकेको छ भने अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि युरोप प्रस्थान गरेका छन्।
उपराष्ट्रपति भान्सले इरानको आणविक कार्यक्रम तथा लेबनान युद्धबिरामसम्बन्धी विषयमा प्रगति हुने अपेक्षा व्यक्त गरेका छन्। गत शुक्रबार तय भएको अनुवर्ती वार्ता इजरायलले लेबनानमा गरेको आक्रमणपछि अन्तिम समयमा स्थगित भएको थियो।
यसैबीच, इरानले लेबनानमा इजरायली आक्रमण जारी रहेको आरोप लगाउँदै ‘स्ट्रेट अफ हर्मुज’ पुनः बन्द गर्ने घोषणा गरेको छ। इरानको केन्द्रीय सैन्य कमाण्डले अमेरिका र इजरायलले प्रारम्भिक सहमतिका सर्त पालना नगरेको दाबी गरेको छ। विश्व तेल तथा ग्यास आपूर्तिको प्रमुख मार्ग मानिने हर्मुज युद्धको अधिकांश अवधिमा अवरुद्ध रहेको थियो।
इरानको घोषणापछि अमेरिकी केन्द्रीय कमाण्डले अन्तरराष्ट्रिय जलमार्गमा सुरक्षित आवागमन कायम रहेको र आफ्ना सेना सतर्क अवस्थामा रहेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताबाट अन्तिम सहमति ननिस्किए हर्मुजमार्फत हुने आवागमनमा अमेरिका आफ्नै शुल्क प्रणाली लागू गर्न सक्ने चेतावनी दिएका छन्।
इरानी प्रतिनिधिमण्डलमा संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघची सहभागी छन्। इरानले वार्तामा प्रारम्भिक सम्झौताअनुसार अर्को पक्षले आफ्नो प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने माग उठाउने जनाएको छ।
पाकिस्तानले पनि प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनीर उच्चस्तरीय वार्ताका लागि स्विट्जरल्याण्ड प्रस्थान गरेको जनाएको छ। वार्ताको मुख्य उद्देश्य इरानको आणविक कार्यक्रमलगायत बाँकी विषयमा दुई महिनाको वार्ता प्रक्रिया अघि बढाउनु रहेको बताइएको छ।
उता, दक्षिणी लेबनानमा इजरायल र हिज्बुल्लाहबीच तनाव कायम छ। दुवै पक्षले एकअर्कामाथि युद्धबिराम उल्लङ्घन गरेको आरोप लगाएका छन्। लेबनानी सञ्चारमाध्यमका अनुसार इजरायली हवाई आक्रमणमा करिब २० स्थान प्रभावित भएका छन् भने ३० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्मको द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या चार हजार नाघेको छ।
