Nepal Purbadhar

पूर्वाधार विस्तारले अन्नपूर्ण आधार शिविरमा बढ्यो पर्यटकको आकर्षण


म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण हिमालको आधार शिविर पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनेको छ। पदमार्ग निर्माण, पूर्वाधार विस्तार, खानेबस्ने सुविधाको विकास र प्रवर्द्धनात्मक कार्यक्रमका कारण यहाँ पर्यटकको चाप उल्लेखनीय रूपमा बढेको हो।

समुद्री सतहबाट चार हजार १९० मिटर उचाइमा रहेको आधार शिविरमा छोटो समयमै सहज पदयात्रामार्फत पुग्न सकिने भएकाले पर्यटकको रोजाइमा परेको छ। नारच्याङदेखि आधार शिविरसम्मको पदमार्ग सञ्चालनमा आएपछि दैनिक दुई सयभन्दा बढी पर्यटक पुग्न थालेका छन्। तर हाल उपलब्ध अस्थायी संरचनाको क्षमता सीमित भएकाले पर्यटक व्यवस्थापनमा चुनौती देखिएको छ।

अन्नपूर्ण र नीलगिरि हिमालको मनोरम दृश्य, झरना, दुर्लभ वनस्पति तथा पञ्चकुण्ड हिमताल यस क्षेत्रका मुख्य आकर्षण हुन्। आधार शिविरमा अन्नपूर्णका प्रथम आरोहीहरूको सालिक र खुला सङ्ग्रहालय पनि रहेको छ।

यद्यपि सञ्चार, विद्युत्, स्वास्थ्य सेवा, फोहर व्यवस्थापन तथा थप पूर्वाधार निर्माणको आवश्यकता अझै रहेको स्थानीय व्यवसायी र सरोकारवालाले बताएका छन्।


Read Previous

रास्वपा महाधिवेशन: ४ हजार २११ प्रतिनिधि, समानुपातिकमा पछाडि पारिएको कर्णालीबाट प्रतिनिधि पनि कम

Read Next

जेनेभामा अमेरिका-इरान वार्ता शुरू, हर्मुजमा पुनः तनाव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar