Nepal Purbadhar

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन सुधारमा केन्द्रित बजेट- अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्ले। फाइल तस्बीर।


काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित भएर ल्याइएको बताएका छन्।

राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको अनुमानमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले बजेट कार्यान्वयनमा चुनौती रहे पनि सरकार नयाँ ढङ्गले अघि बढ्ने बताएका छन्।

उनले बजेटलाई सुशासन, मध्यम वर्गको विस्तार, रोजगारी सिर्जना र निजी क्षेत्रको प्रवर्द्धनमा केन्द्रित गरिएको बताए। निर्वाचनअघि सार्वजनिक गरिएको प्रतिबद्धतापत्रअनुसार आर्थिक, राजनीतिक र न्यायिक सुशासनलाई प्राथमिकतामा राखिएको उनले जानकारी दिए।

“हामीले सुशासनलाई केन्द्रमा राखेका छौँ। आम नागरिकका चासोका विषय आर्थिक, राजनीतिक तथा न्यायिक सुशासनलाई अगाडि बढाएका छौँ,” उनले भने, “मुलुकको समृद्धिका लागि मध्यम वर्गको विस्तार आवश्यक छ। निम्न आय भएका वर्गलाई माथि उकास्दै मध्यम वर्ग विस्तार गर्न खोजिएको हो।”

उनले गरिब तथा तल्लो आय वर्गलाई बेवास्ता गरिएको भन्ने टिप्पणी सही नभएको पनि बताए।

अर्थमन्त्रीका अनुसार २१ वटा आर्थिक क्षेत्र पहिचान गरी आगामी पाँच वर्षमा १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य बजेटले लिएको छ। सडक पूर्वाधार विस्तार, प्रवासी नेपालीको लगानी परिचालन र निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख साझेदारका रूपमा अघि बढाइएको उनले बताए।

कोभिड–१९ महामारीपछि नेपालको अर्थतन्त्र पूर्ण रूपमा पुरानै अवस्थामा फर्किन नसकेको उल्लेख गर्दै उनले निजी लगानीमा अझै पनि अनिश्चितता रहेको स्वीकार गरे।

“मध्यम वर्गको क्रयशक्ति कमजोर हुँदा अर्थतन्त्र चलायमान हुन सक्दैन,” उनले भने, “त्यसैले आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरेका छौँ।”

उनका अनुसार सामाजिक सुरक्षा कार्यक्रम कटौती गरिएको छैन, बरु विस्तार गरिएको छ। कृषि आधुनिकीकरण, श्रमिक सुरक्षा, कृषि बिमा, रोजगारी तथा स्टार्टअप कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको उनले जानकारी दिए।


Read Previous

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापन चुनौती थपिँदै

Read Next

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar