
गण्डकी। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल रु ३२ अर्ब ९९ करोड ९९ लाखको बजेट सार्वजनिक गरेको छ।
प्रदेशसभाको आइतबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले बजेट प्रस्तुत गर्दै चालु तथा पुँजीगत दुवै शीर्षकमा विनियोजन विवरण सार्वजनिक गरेका हुन्।
बजेटअनुसार चालुतर्फ रु १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार विनियोजन गरिएको छ, जुन कुल बजेटको ३८.५६ प्रतिशत हो। त्यस्तै पुँजीगततर्फ रु २० अर्ब २ करोड ६१ लाख २२ हजार विनियोजन गरिएको छ, जसले कुल बजेटको ६०.६८ प्रतिशत हिस्सा ओगट्छ। वित्तीय व्यवस्थापनतर्फ रु २५ करोड छुट्याइएको छ।
मन्त्री शेरचनका अनुसार आगामी आर्थिक वर्षका लागि बजेटको स्रोत संघीय सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँट तथा आन्तरिक राजस्व परिचालनबाट जुटाइनेछ।
संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत रु ७ अर्ब ८४ करोड ८२ लाख, राजस्व बाँडफाँटबाट रु १० अर्ब १६ करोड ४७ लाख ४८ हजार, रोयल्टी बाँडफाँटबाट रु ५१ करोड ४८ लाख, सशर्त अनुदानतर्फ रु ३ अर्ब ९३ करोड ३ लाख, समपूरक अनुदानतर्फ रु ५५ करोड ४६ लाख र विशेष अनुदानतर्फ रु ३९ करोड ५४ लाख प्राप्त हुने अनुमान गरिएको छ।
त्यस्तै प्रदेशको आन्तरिक राजस्व परिचालनबाट रु ५ अर्ब ८४ करोड १८ लाख ५२ हजार संकलन हुने अनुमान गरिएको छ। चालु आर्थिक वर्षको कार्यक्रम कार्यान्वयनपछि रु २ अर्ब नगद मौज्दात रहने अपेक्षा गरिएको छ।
बजेटमा देखिएको न्यून रकम रु १ अर्ब ७५ करोड आन्तरिक ऋण परिचालनबाट पूर्ति गरिने सरकारले जनाएको छ।

