Nepal Purbadhar

१८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण शुरू


म्याग्दी। म्याग्दी जिल्लामा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण कार्य औपचारिक रूपमा शुरू भएको छ। कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिले प्रवर्द्धन गरेको यस आयोजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा सोमबारदेखि विस्फोटक पदार्थ प्रयोग गरी शुरूङ निर्माणको काम थालिएको हो।

आगामी चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको बाँध, गाडपार र घरापस्थित प्रस्तावित विद्युत्गृह क्षेत्रबाट चार स्थानमा एकैसाथ शुरूङ निर्माणको तयारी भइरहेको छ। आयोजनाअन्तर्गत ५.६ मिटर लामो शुरूङ निर्माण गरिनेछ।

विद्युत्गृह र बाँध निर्माणस्थलमा सिभिल ठेकेदार साउथ एसियन इन्फ्रास्ट्रक्चर परिचालित भइसकेको छ। मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसास्थित पहिरा थाप्लामा बाँध तथा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा विद्युत्गृह निर्माण गरिनेछ।

‘रन अफ द रिभर’ प्रविधिमा आधारित यस आयोजनामा एक किलोमिटर लामो पेनस्टक पाइपलाइन रहनेछ। विद्युत्गृहदेखि आउटलेटसम्मको उचाइ अन्तर ४८० मिटर रहेको छ। प्रवर्द्धक कम्पनी, निर्माण कम्पनी र नेपाली सेनाका लागि कार्यालय, आवास तथा विस्फोटक पदार्थ भण्डारण भवन निर्माण अन्तिम चरणमा पुगेका छन्।

आयोजनाका लागि आठ किलोमिटर पहुँचमार्ग निर्माण भइसकेको छ भने आयोजनास्थल पुग्न गाडपारमा बेलिब्रिज जडानको तयारी भइरहेको छ। उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न घरापदेखि दानासम्म २२० केभी क्षमताको करिब एक किलोमिटर प्रसारण लाइन निर्माण गरिनेछ।

करिब ४० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा ग्लोबल आइएमई बैंकको नेतृत्वमा लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक र प्रभु बैंकको लगानी रहनेछ। प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर छुट्याइने छ।

आयोजनाको शुभारम्भ स्थानीय जनप्रतिनिधि, समुदायका अगुवा, प्रवर्द्धक कम्पनी, निर्माण कम्पनी तथा सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा धार्मिक विधिअनुसार पूजाआजा गरी गरिएको थियो।

कालीगण्डकी गर्ज म्याग्दी जिल्लामा हालसम्म निर्माण शुरू भएका आयोजनामध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो। नारच्याङ क्षेत्रका नदीहरूमा हालसम्म १६२ मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन्।

त्यसमध्ये पाँच मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको म्रिस्तीखोला, ३८ मेगावाटको नीलगिरि–१, ७१ मेगावाटको नीलगिरि–२ तथा छ मेगावाटको रेलेखोला जलविद्युत् आयोजना सञ्चालनमा छन्।

यसैगरी, नारच्याङको सीमाना हुँदै बग्ने कालीगण्डकी नदीमा ६६.३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माणाधीन रहेको छ भने ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माणको तयारी भइरहेको छ।


Read Previous

बालाजु औद्योगिक क्षेत्रका उद्योगको करोडौँ बक्यौता, असुलीमा मन्त्री सक्रिय, कसको कति छ बक्यौता?

Read Next

सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar