
काठमाडौं। विश्वव्यापी राइड–सेयरिङ प्लेटफर्म उबरले नेपालमा आफ्नो आधिकारिक सेवा शुरू गरेको घोषणा गरेको छ। कम्पनीले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सेवा शुभारम्भको घोषणा गरेको हो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयका उच्च सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो।

उबरको नेपाल प्रवेशसँगै देश दक्षिण एशिया तथा एशिया–प्रशान्त (APAC) क्षेत्रमा कम्पनीको विस्तार यात्राको नयाँ गन्तव्य बनेको छ। कम्पनीका अनुसार नेपाल APAC क्षेत्रको ११औँ बजार तथा पछिल्लो एक दशकयता दक्षिण एशियामा उबरले सेवा विस्तार गरेको पहिलो नयाँ बजार हो।
प्रारम्भिक चरणमा उबरले चारपाङ्ग्रे सवारीतर्फ ‘उबर गो’ र ‘उबर कम्फर्ट’ तथा दुईपाङ्ग्रे सवारीतर्फ ‘उबर बाईक’ सेवा सञ्चालनमा ल्याएको जनाएको छ। यी सेवामार्फत यात्रुहरूले शहरभित्र सहज, भरपर्दो र डिजिटल माध्यमबाट यात्रा सेवा लिन सक्नेछन्।

उबर हाल विश्वका ७० भन्दा बढी देशमा सञ्चालनमा छ। कम्पनीका अनुसार नेपालका प्रयोगकर्ताले पनि विश्वका विभिन्न मुलुकमा प्रयोग हुने एउटै एपमार्फत यात्रा सेवा लिन सक्नेछन्, जसले स्थानीय तथा अन्तर्राष्ट्रिय यात्रुलाई थप सहजता प्रदान गर्नेछ।
उबरका एशिया–प्रशान्त क्षेत्रीय राइड्स विभागका महाप्रबन्धक डोमिनिक टेलरले नेपालमा सेवा शुरू गर्न पाउँदा उत्साहित रहेको बताए। उनका अनुसार बढ्दो डिजिटल पहुँच, शहरी यातायातको आवश्यकता तथा विस्तार हुँदै गएको पर्यटन उद्योगका कारण नेपाल उबरका लागि सम्भावनायुक्त बजार बनेको हो।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले उबरको आगमनले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा थप आकर्षक गन्तव्य बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले विदेशी पर्यटक तथा नेपाली नागरिक दुवैका लागि यातायात सेवा थप सहज र व्यवस्थित बन्ने बताए।

त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले उबरको प्रवेशलाई आधुनिक र डिजिटल यातायात प्रणाली निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरे। उनले यसले नेपालप्रति अन्तर्राष्ट्रिय लगानीकर्ताको विश्वास बढाउने, रोजगारी सिर्जना गर्ने तथा शहरी यातायात व्यवस्थापनमा सकारात्मक योगदान पुर्याउने धारणा राखे।

कम्पनीका अनुसार नेपालमा स्मार्टफोनको बढ्दो प्रयोग, डिजिटल सेवाप्रतिको आकर्षण, पर्यटन क्षेत्रको विस्तार तथा सहज यातायातको मागलाई ध्यानमा राख्दै सेवा विस्तार गरिएको हो। उबरले स्थानीय आवश्यकताअनुसार अनुकूलित सेवामार्फत यात्रु, चालक र पर्यटकलाई थप विकल्प उपलब्ध गराउने अपेक्षा गरेको छ।
सन् २०१० मा स्थापना भएको उबर हाल विश्वकै अग्रणी मोबिलिटी प्लेटफर्ममध्ये एक हो। कम्पनीले हालसम्म विश्वभर ७५ अर्बभन्दा बढी यात्रा सेवा प्रदान गरिसकेको जनाएको छ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी
