Nepal Purbadhar

ग्यास वितरणमा ‘क्विक रेस्पोन्स’, दैनिक २ सयभन्दा बढी गुनासो सम्बोधन


काठमाडौं। खाना पकाउने ग्यासको आपूर्ति तथा वितरणमा देखिएका समस्या तत्काल समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘क्विक रेस्पोन्स’ प्रणालीलाई सक्रिय बनाएको छ।

उपभोक्ताका गुनासा तत्काल सुन्ने र समाधान गर्ने उद्देश्यले मन्त्रालय र नेपाल आयल निगमका कर्मचारीलाई परिचालन गरी ग्यास वितरणमा देखिएका समस्या सम्बोधन गर्न थालिएको हो। पछिल्लो समय ग्यास वितरणसँग सम्बन्धित दैनिक २ सयभन्दा बढी गुनासा सम्बोधन भइरहेको मन्त्रालयले जनाएको छ।

उपभोक्ताबाट प्राप्त गुनासो सुन्ने, सम्बन्धित ग्यास उद्योग तथा विक्रेतासँग समन्वय गर्ने र आवश्यकताअनुसार आपूर्ति व्यवस्थापन मिलाउने काम भइरहेको छ। यसका लागि नेपाल आयल निगमको कार्यालयबाटै कर्मचारी खटाएर गुनासो सुनुवाइ तथा समन्वयको काम भइरहेको जनाइएको छ।

मन्त्रालय र निगमको समन्वयमा काठमाडौं उपत्यकामा ग्यासको आपूर्तिलाई समेत तीव्र बनाइएको छ। हाल उपत्यकामा मात्रै दैनिक करिब ४० हजार सिलिन्डर ग्यास वितरण भइरहेको मन्त्रालयले जनाएको छ।

मागअनुसार आपूर्ति व्यवस्थापन गर्दै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने प्रयास भइरहेको मन्त्रालयको भनाइ छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्ताले ग्यासका लागि समस्या र सास्ती व्यहोर्न नपरोस् भन्ने उद्देश्यले आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायलाई निरन्तर निर्देशन दिँदै आएकी छन्।

मन्त्री यादवको निर्देशनपछि मन्त्रालय र निगमका कर्मचारीबीच प्रत्यक्ष समन्वय बढाइएको छ। ग्यास आपूर्ति तथा वितरणमा देखिएका समस्या पहिचान गरी तत्काल समाधान गर्ने गरी ‘क्विक रेस्पोन्स’ संयन्त्रलाई सक्रिय बनाइएको हो।

मन्त्रालयका अनुसार ग्यासको आपूर्ति र वितरणलाई थप व्यवस्थित बनाउँदै उपभोक्ताले सहज रूपमा ग्यास पाउने अवस्था सुनिश्चित गर्न नियमित अनुगमन र समन्वयलाई प्राथमिकतामा राखिएको छ।


Read Previous

५जी सेवा सञ्चालनका लागि कार्ययोजना पेश गर्न सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

Read Next

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar