Nepal Purbadhar

कोरोला नाकाहुँदै ल्याइएका ७७५ ईभी सशस्त्रको नियन्त्रणमै, पोखरामा मात्रै ९६ गाडी


पोखरा। मुस्ताङको कोरोला नाका हुँदै भन्सार प्रक्रिया छलेर नेपाल भित्र्याइएको आशंकामा सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएका ७७५ वटा विद्युतीय सवारीसाधन (ईभी) अझै पनि सुरक्षा निगरानीमा रहेका छन्। तीमध्ये ९६ वटा गाडी कास्कीको पोखरा महानगरपालिका–२५ स्थित सुइखेतमा राखिएको छ।

सशस्त्र प्रहरी बलको विशेष टोलीले जेठ २८ गते मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जालगायत विभिन्न स्थानमा छापा मारेर सवारीसाधन नियन्त्रणमा लिएको थियो।

विशेष सूचनाका आधारमा कोरोला नाका हुँदै ठूलो परिमाणमा विद्युतीय गाडी भन्सार छली गरेर नेपाल भित्र्याइएको आशंका भएपछि सशस्त्र प्रहरीले संयुक्त अपरेसन सञ्चालन गरेको जनाएको छ। अपरेसनमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नम्बर २५ चण्डिका गण पर्वत र नम्बर २४ कालिका गण कास्कीका टोली परिचालन गरिएको थियो।

सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधन नाकादेखि पोखरासम्मका विभिन्न स्थानमा सुरक्षा निगरानीसहित राखिएका छन्। पोखराको सुइखेतमा मात्रै ९६ वटा ईभी राखिएको छ भने बाँकी सवारीसाधन अन्य सुरक्षित स्थानमा राखेर निगरानी गरिएको छ।

घटनाको अनुसन्धानका लागि सरकारले छानबिन समिति गठन गरिसकेको छ। ती विद्युतीय सवारीसाधन कानुनी प्रक्रिया पूरा गरी आयात गरिएका हुन् वा भन्सार छलीमार्फत नेपाल भित्र्याइएका हुन् भन्ने विषयमा समिति मार्फत विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

बजेटमाथि आईक्यानको समीक्षा, दिगो आर्थिक विकासकालागि प्रभावकारी कार्यान्वयनमा जोड

Read Next

नेपालको राइड–सेयरिङ सेवामा उबरको औपचारिक प्रवेश, काठमाडौंबाट सेवा शुरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar