
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन प्रवासमा रहेका नेपालीलाई आग्रह गरेका छन् ।
अस्ट्रेलियाका नेपाली युवा उद्यमीले आयोजना गरेको सम्मेलनलाई शनिवार भर्चुअल सम्बोधन गर्दै उनले प्रवासमा रहेका नेपालीलाई यस्तो आग्रह गरेका हुन् ।
“एक पटकको नेपाली, सधैँको नेपाली हौँ भन्ने हाम्रो मान्यतामा हामी स्पष्ट छौँ । ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ,” अर्थमन्त्री वाग्लेले भने ।
प्रवासमा रहेका नेपाली सरकारको विकास र लगानी विस्तारका सद्भावना दूत भएको पनि उनको भनाइ छ । नेपालमा नयाँ सरकारले सुशासनको जग बसाल्न र आर्थिक विकासका सम्भावना फराकिलो बनाउन काम गरिरहेको भन्दै उनले यसमा प्रवासमा रहेका नेपालीको हातेमालो आवश्यक रहेको बताए ।
सरकारले पछिल्लो १०० दिनमा सुशासन, सरकारी सेवा प्रवाहलाई सहज बनाउने र अर्थतन्त्रलाई नयाँ दिशामा अघि बढाउने काममा उल्लेखनीय सुरुवात गरेको उनको दाबी छ ।
“सरकारको नेतृत्वदेखि मन्त्रीहरूसम्म सबैले उच्च नैतिकताको कसीमा उभिएर काम गरिरहेका छन्,” उनले भने, “मेरिटोक्रेसी, नेतृत्वमा उच्च नैतिकता, भ्रष्टाचारमा शून्य सहनशीलता र अर्थतन्त्रको समुन्नतिका लागि आर्थिक राजकाजको जहाज मोड्ने कदमको थालनी पछिल्लो एक दशककै सुनौलो सुधारको सुरुवात हो ।”
बजेटमार्फत अर्थतन्त्रको पुनरुत्थानका लागि कर, राजस्व र बजेट वितरणमा नयाँ सुरुवात गरिएको तथा लगानीका नयाँ सम्भावनाका ढोका खोलिएको उनले बताए । प्रवासमा रहेका नेपालीबाट नेपालमा लगानी भित्र्याउने अपेक्षा सरकारले गरेको उनको भनाइ छ ।
नेपालबाट लगानीको प्रतिफल फिर्ता लैजान सरकारले सहजीकरण गर्ने भन्दै उनले आफ्नो तथा विदेशी लगानी नेपाल ल्याउन अस्ट्रेलियामा रहेका नेपालीलाई पहलकदमी लिन आग्रह गरे ।
“डायस्पोरालाई नेपालमा लगानी ल्याउन सहजीकरणका महत्त्वपूर्ण ढोका खोलिएका छन् । तपाईंहरू हाम्रो सद्भावना दूत हुनुहुन्छ । आफैँले कमाएको वैध रकम र विदेशी लगानी नेपालमा ल्याउन तपाईंहरू सबैभन्दा राम्रो सहजकर्ता हुनुहुन्छ,” उनले भने ।
सरकारले एनआरएनए बन्ड, अफसोर बन्ड र वैकल्पिक वित्त परिचालनजस्ता रूपान्तरणकारी अवधारणा अघि सारेको भन्दै उनले यसले नेपालमा प्रवासी नेपालीको लगानी विस्तारमा सहयोग पुग्ने बताए ।
सरकारी खाताभन्दा बाहिरबाट अर्थतन्त्रको पुनरुत्थानका लागि सहजीकरण गरिएको भन्दै उनले सरकारले थप के–कस्तो सहजीकरण गर्नुपर्छ भन्ने विषयमा स्पष्ट सुझाव दिन पनि प्रवासी नेपालीलाई आग्रह गरे ।
अस्ट्रेलियाको कुल जनसङ्ख्याको करिब एक प्रतिशत नेपाली रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले नेपालीहरू नेपालको समृद्धिका लागि महत्वपूर्ण सम्पत्ति भएको बताए । देश निर्माणको साझा स्वार्थमा एकजुट भएर हातेमालो गर्न उनले सबैलाई आग्रह गरे ।
