
काठमाडौं। काठमाडौं प्रवेशद्वारमा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको उज्यालोले रातको समयमा झलमल्ल देखिन थालेका छन् ।
सुरुङमार्ग र फ्लाइओभरमा जडान गरिएका सडक बत्तीले रातको समयमा राजधानीको पश्चिमी नाका आकर्षक देखिएको छ ।

काठमाडौं र धादिङलाई जोड्ने नेपालको पहिलो सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक उद्घाटनपछि सञ्चालनमा आउँदैछ । २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको यो आयोजना करिब सात वर्षपछि सञ्चालनमा आउन लागेको हो ।
करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको सुरुङमार्गले नागढुंगा क्षेत्रमा हुने ट्राफिक जाम कम गर्दै काठमाडौं उपत्यकामा आवतजावत सहज बनाउने अपेक्षा गरिएको छ । मुख्य सुरुङ २.६८ किलोमिटर लामो छ भने २.५५७ किलोमिटरको छुट्टै आपतकालीन (रेस्क्यु) सुरुङ निर्माण गरिएको छ ।

उद्घाटनपछि पहिलो दिन आपतकालीन प्रयोजनका सवारीसाधनलाई मात्र सुरुङ प्रयोग गर्न दिइनेछ । त्यसपछि चरणबद्ध रूपमा निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा ल्याइने सडक विभागले जनाएको छ । पैदलयात्री, दुईपाङ्ग्रे सवारीसाधन तथा डिजेल, पेट्रोललगायत प्रज्वलनशील पदार्थ बोकेका सवारीसाधनलाई भने सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन ।

सुरुङमार्ग प्रयोगका लागि सरकारले शुल्कसमेत निर्धारण गरेको छ । काठमाडौं भित्रिँदा कार तथा भ्यानले ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । मिनीबस तथा टिपरले भित्रिँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ । बस तथा ट्रकका लागि भित्रिँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तोकिएको छ । हेभी ट्रकले भने भित्रिँदा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्नेछ ।
प्रारम्भिक सम्झौताअनुसार आयोजना ४२ महिनाभित्र सम्पन्न हुनुपर्ने भए पनि कोभिड–१९ महामारी, जग्गा अधिग्रहण तथा मुआब्जा विवादलगायत कारण निर्माणमा ढिलाइ भएको थियो ।

सुरुङमार्गसँगै निर्माण गरिएको बलम्बु फ्लाइओभर पनि सञ्चालनका लागि तयार भएको छ । कलंकी–नागढुंगा सडकखण्डअन्तर्गत थानकोट चेकपोस्ट नजिक रहेको यो फ्लाइओभरले नागढुंगा सुरुङमार्गको पहुँचमार्गलाई मुख्य सडकसँग जोड्नेछ ।
१२८ मिटर लामो फ्लाइओभरमा मूल सडकतर्फ २८० मिटर र पहुँचमार्गतर्फ २१० मिटर लामो र्याम्प निर्माण गरिएको छ । फ्लाइओभर र सुरुङमार्ग दुवै क्षेत्रमा सडक बत्ती जडान गरिएपछि रातको समयमा सम्पूर्ण संरचना झिलिमिली देखिन थालेको छ । आधुनिक प्रकाश व्यवस्थासहितको फ्लाइओभर र सुरुङमार्गले राजधानी प्रवेशद्वारको स्वरूप नै परिवर्तन गरेको छ ।

सरकारले सुरुङमार्ग सञ्चालनसँगै नागढुंगा नाकामा हुने लामो ट्राफिक जाम घट्ने, यात्रा समय छोटिने र राजधानी प्रवेश गर्ने सवारीसाधनको आवागमन थप सुरक्षित तथा व्यवस्थित हुने विश्वास लिएको छ ।
यो आयोजना जापान सरकारको ऋण सहायता र नेपाल सरकारको लगानीमा निर्माण गरिएको हो । प्रारम्भमा जापान सरकारको करिब साढे १६ अर्ब रुपैयाँ र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी रहने सहमति भएको थियो । निर्माणका क्रममा लागत बढेपछि जापान सरकारले थप करिब ५ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराएको थियो । आयोजनाको निर्माण ठेक्का जापानको हाज्मा आन्दो कर्पोरेसनले लिएको थियो ।




