
काठमाडौं, साउन ९ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीको निर्देशनपछि नक्सालस्थित नेपाल बाल संगठनको बाल मन्दिरमा पुनःसंरचना तथा पूर्वाधार सुधारको काम शुरू गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको समन्वयमा आयोजना प्रमुख, निर्माण कम्पनी तथा प्राविधिक टोलीको उपस्थितिमा ढल निर्माण कार्यबाट पुनःसंरचनाको औपचारिक शुरूआत गरिएको हो ।
गत साता मन्त्रालयले प्राप्त उजुरी तथा सार्वजनिक भएका भिडियो सामग्रीका आधारमा गरेको स्थलगत अनुगमनका क्रममा बाल मन्दिरको भौतिक अवस्था अत्यन्त जीर्ण रहेको पाइएको थियो । भवनभित्र पानी जम्ने, प्रभावकारी ढल निकासको व्यवस्था नहुँदा दुर्गन्ध फैलिने, शौचालय तथा स्नानगृह प्रयोगयोग्य नरहेको, सरसफाइ कमजोर रहेको तथा विभिन्न उमेर समूहका बालबालिकालाई एउटै स्थानमा राखिएको अवस्था फेला परेको थियो ।
बालबालिकाको स्वास्थ्य, सुरक्षा र संरक्षणमा गम्भीर जोखिम देखिएपछि मन्त्रालयले तत्काल हस्तक्षेप गर्दै पहिलो चरणमा दुई वर्षमुनिका २० जना बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो ।
उद्धारपछि मन्त्री सिता बादीले बाल मन्दिरको भौतिक अवस्था तत्काल सुधार गरी बालबालिकाका लागि सुरक्षित, स्वच्छ र व्यवस्थित वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी थिइन् । सोही निर्देशनअनुसार पुनःसंरचनाको काम शुरू गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पहिलो चरणमा ढल व्यवस्थापनको काम अघि बढाइएको छ । त्यसपछि भवन मर्मत, क्षतिग्रस्त संरचनाको पुनःनिर्माण, शौचालय तथा स्नानगृह स्तरोन्नति, सरसफाइ व्यवस्थापन, सुरक्षित खानेपानीको व्यवस्था तथा बालमैत्री पूर्वाधार निर्माणका काम क्रमिक रूपमा अघि बढाइनेछ ।
मन्त्री सिता बादीले आयोजना प्रमुख र निर्माण कम्पनीलाई आगामी दशैंअघि सम्पूर्ण पुनःसंरचना तथा पूर्वाधार सुधारका काम गुणस्तरीय रूपमा सम्पन्न गरी बाल मन्दिरलाई सुरक्षित, स्वच्छ, व्यवस्थित र बालमैत्री संरक्षण केन्द्रका रूपमा सञ्चालनमा ल्याउन निर्देशन दिएकी छन् ।
मन्त्रालयले बाल संरक्षणसँग सम्बन्धित पूर्वाधारमा देखिएका कमजोरी सुधार गर्दै राज्यको संरक्षणमा रहेका प्रत्येक बालबालिकाले सुरक्षित, सम्मानजनक र गुणस्तरीय वातावरणमा हुर्किन पाउने अधिकार सुनिश्चित गर्ने प्रतिबद्धताअनुसार सुधारका कामलाई निरन्तरता दिने जनाएको छ ।
