
किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस–युक्रेन युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्न आह्वान गरेका छन्। चार वर्षभन्दा लामो समयदेखि जारी द्वन्द्वको स्थायी समाधान खोज्न खुला पत्रमार्फत उनले वार्ताको प्रस्ताव अघि सारेका हुन्।
जेलेन्स्कीले युद्ध अन्त्यसम्बन्धी कुनै पनि प्रस्ताव इमानदारी, सम्मान र भविष्यमा पुनः युद्ध नदोहोरिने सुनिश्चिततासहित अघि बढाइनुपर्ने बताएका छन्। उनले प्रस्तावित वार्ता स्विट्जरल्याण्ड, टर्की वा कुनै अरब राष्ट्रमा आयोजना गर्न सकिने उल्लेख गरेका छन्, जहाँ विगतमा पनि अन्तर्राष्ट्रिय वार्ताका लागि मध्यस्थताको भूमिका निर्वाह हुँदै आएको छ।
उनले वार्ता प्रक्रियाको अवधिमा युक्रेन पूर्ण युद्धविराम लागू गर्न तयार रहेको जनाउँदै युद्धविरामको प्रभावकारी अनुगमनका लागि संयुक्त राज्य अमेरिका लगायतका अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोग आवश्यक पर्ने बताएका छन्।
जेलेन्स्कीले रूसले युद्धविरामको प्रस्ताव अस्वीकार गरेमा युक्रेन आफ्नो सार्वभौमसत्ता र अस्तित्वको रक्षाका लागि संघर्ष जारी राख्ने स्पष्ट पारेका छन्।
यता, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसले युद्धविरामसम्बन्धी प्रस्तावलाई सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन्। उनले जेलेन्स्कीले जुनसुकै समयमा मस्को भ्रमण गर्न सक्ने बताएका छन्।
पेस्कोभका अनुसार राष्ट्रपति पुटिनले हालसम्म जेलेन्स्कीको खुला पत्रको औपचारिक समीक्षा गरिसकेका छैनन्। पत्रबारे थप जानकारी निकट भविष्यमै सार्वजनिक गरिने उनले बताएका छन्।
द्वन्द्व समाधानका लागि कूटनीतिक प्रयासहरू ठप्प भइरहेका बेला दुवै पक्षबीच खुला पत्रमार्फत संवादको प्रयास भएको जनाइएको छ।
यसैबीच, पुटिनले दीर्घकालीन शान्ति सम्झौताले रूसको सुरक्षा चासो र युद्धको ‘मूल कारण’ का रूपमा मस्कोले उठाउँदै आएका विषयहरूलाई सम्बोधन गर्नुपर्ने धारणा दोहोर्याएका छन्।
