Nepal Purbadhar

गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न न्यायिक समिति गठन, सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने


गणेश नेपाली मृत्यु प्रकरणमा न्यायिक समिति गठन, सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने

काठमाडौँ । सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गर्न न्यायिक समिति गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा पूर्वसहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्वसहसचिव रामुराज कडरिया सदस्य रहेका छन् । मन्त्रिपरिषद्ले समितिलाई गठन भएको मितिले सात दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गर्न जिम्मेवारी दिएको छ ।

नेपालीको गत असार २६ गते काठमाडौँस्थित वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि घटनाको सत्यतथ्य छानबिनको माग उठ्दै आएको थियो ।

यसै विषयमा नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीडित पक्षबीच नौबुँदे सहमति भएको थियो । सहमतिको पहिलो बुँदामा घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र स्वतन्त्र छानबिन समिति गठन गर्ने र समितिले गठन भएको मितिले सात दिनभित्र प्रतिवेदन सरकारसमक्ष पेस गर्ने उल्लेख थियो ।

सोही सहमतिअनुसार मन्त्रिपरिषद्ले न्यायिक समिति गठन गरेको हो । समितिले घटनासँग सम्बन्धित तथ्य, कारण र जिम्मेवार पक्षबारे अध्ययन गरी निर्धारित समयभित्र सरकारलाई प्रतिवेदन बुझाउनेछ ।


Read Previous

मन्त्रिपरिषद्का निर्णय: मिटरब्याजका फर्जी लिखत अवैधदेखि शिक्षा-स्वास्थ्यको ३ प्रतिशत कर खारेजसम्म

Read Next

जयवागेश्वरी र एयरपोर्ट पछाडिको अनुगमनमा कार्यवाहक प्रमुख सुनिता डंगोल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar