
काठमाडौँ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी) ले नेपालको प्रविधि क्षेत्रका नवीनतम समाधान, कृत्रिम बौद्धिकता, साइबर सुरक्षा तथा उदीयमान प्रविधि प्रदर्शन गर्ने गरी ‘नास-आईटी एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ ।
नास-आईटीले आगामी नोभेम्बर २१ र २२ मा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना हुने दुईदिने एक्स्पोमा कृत्रिम बौद्धिकता, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ, डिजिटल रूपान्तरण तथा अन्य उदीयमान प्रविधि मुख्य आकर्षणका रूपमा रहने जनाएको छ ।
एक्स्पोले नेपालको प्रविधि क्षेत्र, व्यवसाय, नीतिनिर्माता, लगानीकर्ता, उद्यमी, विद्यार्थी तथा प्रविधिप्रेमीलाई एकै थलोमा ल्याई नवप्रवर्तन, सहकार्य तथा व्यावसायिक अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ ।
गत वर्ष सम्पन्न नास-आईटी एक्स्पोको सफलतालाई निरन्तरता दिँदै यस वर्षको एक्स्पोमा प्रविधि कम्पनीले आफ्ना नवीन समाधान प्रस्तुत गर्ने, व्यवसायका वास्तविक चुनौती समाधान गर्ने उत्पादन तथा प्रविधि प्रदर्शन गर्ने तथा सम्भावित साझेदारसँग प्रत्यक्ष रूपमा जोडिने अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
सन् २०२५ मा सम्पन्न नास-आईटी एक्स्पोमा दुई हजार ५०० भन्दा बढी सहभागी तथा ३० भन्दा बढी प्रविधि कम्पनीको सहभागिता रहेको थियो । एक्स्पोमा उद्योगका अग्रणी व्यक्तित्व, सरकारी प्रतिनिधि, विभिन्न देशका राजदूत, लगानीकर्ता, व्यावसायिक प्रतिनिधि, नयाँ उद्यम, विद्यार्थी तथा प्रविधिप्रेमीको सहभागिता रहेको थियो ।
नास-आईटीका अनुसार यस वर्षको एक्स्पोले नेपालको बढ्दो प्रविधि क्षमतालाई प्रभावकारी रूपमा प्रस्तुत गर्दै स्थानीय सूचना प्रविधि समाधानको प्रवर्द्धन गर्नेछ । एक्स्पोले प्रविधि कम्पनी र विभिन्न व्यवसायबीच सहकार्यको वातावरण सिर्जना गर्दै नवप्रवर्तन, ज्ञान आदानप्रदान तथा नेपालको डिजिटल अर्थतन्त्रको दिगो विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
एक्स्पोमा अग्रणी सूचना प्रविधि कम्पनी तथा नवप्रवर्तनशील नयाँ उद्यमका प्रविधि प्रदर्शनी, प्रविधि कम्पनी, व्यवसाय, लगानीकर्ता तथा सरोकारवालाबीच सञ्जाल विस्तार तथा सहकार्यका अवसर उपलब्ध हुनेछन् ।
यस्तै, कृत्रिम बौद्धिकता, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ, डिजिटल रूपान्तरण तथा उदीयमान प्रविधिसम्बन्धी ज्ञानमूलक सत्र सञ्चालन गरिनेछ । नयाँ साझेदारी, व्यापारिक अवसर तथा नेपालको प्रविधि क्षेत्रका पछिल्ला विकासबारे जानकारी प्राप्त गर्ने अवसरसमेत एक्स्पोमा उपलब्ध हुने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा सहभागिता, आगन्तुक दर्ता, कार्यक्रमको विस्तृत कार्यसूची, वक्ता तथा साझेदारीसम्बन्धी थप जानकारी आगामी दिनमा सार्वजनिक गरिनेछ ।
