
काठमाडौं । १२४ मेगावाटको जगदुल्ला ‘ए’ जलविद्युत आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग ग्रिड जडान सम्झौता (Grid Connection Agreement) सम्पन्न गरेको छ ।
जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच साउन १८ गते ग्रिड जडान सम्झौता सम्पन्न भएको हो । सम्झौतासँगै आयोजनाको उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने प्रक्रियाले महत्वपूर्ण चरण पार गरेको छ।
ग्रिड जडान सम्झौता विद्युत आयोजनालाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्ने प्रक्रियाको महत्वपूर्ण आधार मानिन्छ । यसले आयोजनाको विद्युत प्रसारण तथा प्रणालीमा जोडिने प्राविधिक र संस्थागत प्रक्रिया अघि बढाउन मार्ग प्रशस्त गरेको छ।
आयोजना निर्धारित समयमै सम्पन्न गरी राष्ट्रिय विद्युत प्रणालीमा योगदान पुर्याउने लक्ष्यसहित काम भइरहेको आयोजनाले जनाएको छ। सम्झौता सम्पन्न हुनुले आयोजनाको विकास प्रक्रियालाई थप गति दिने अपेक्षा गरिएको छ।
कम्पनीका सीईओ सञ्जय सापकोटाले यस महत्वपूर्ण उपलब्धिका लागि नेपाल विद्युत प्राधिकरण, सम्बन्धित निकाय तथा परियोजना टोलीप्रति धन्यवाद व्यक्त गरेको छन् ।
जगदुल्ला हाइड्रोपावर कम्पनीले नै यो आयोजना प्रवर्धन गर्न लागेको हो । कम्पनीले १०६ मेगावाटको आयोजना निर्माण सुरु गरेको हो । यहि १०६ मेगावाटको क्यासकेडका रुपमा यो आयोजना निर्माण हुनेछ ।
आयोजना विस्तृत अध्ययन पूरा भइसकेको छ । प्रस्तावित आयोजना डोल्पाको मुड्केचुला र जाजरकोटको नलगाड नगरपालिकामा पर्दछ । मुड्केचुला १,२,३,र ४ तथा नलगाड-१३मुख्य प्रभावित क्षेत्र हुन् ।
आयोजना अर्ध-जलाशययुक्त जलविद्युत आयोजनाको सेमी क्यासकेड परियोजनाका रुपमा निर्माण गर्न लागिएको छ।
यसका लागि मुड्केचुल-४ स्थित इलमा रहेको जगदुल्ला जलविद्युत आयोजनाको टेलरेस सुरुङबाट निस्केको पानी जगदुल्ला-ए जलविद्युत आयोजनाको हेडरेस सुरुङले प्रयोग गर्न प्रस्ताव गरिएको छ।
जगदुल्ला-ए जलविद्युत आयोजनाका लागि ७.१ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेछ। क्यासकेड आयोजना रहेका कारण हेडवर्क्स बनाइरहनुपर्दैन। सोही कारण जगदुल्ला जलविद्युत आयोजनाबाट विद्युत उत्पादनपछि टेलरेस टनेलमार्फत निस्कने पानी सिधै डाइभर्स बनाएर सुरुङमार्गमार्फत त्रिवेणी भन्ने ठाउँमा पुऱ्याएर विद्युत उत्पादन हुनेछ । त्रिवेणीमा आयोजनाको पावर हाउस रहनेछ।
आयोजना १ वर्षमा पूर्व तयारी सकेर ४ वर्षमा व्यवसायिक विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ। ६ घण्टासम्म पिकिङ क्षमता रहेको आयोजनाबाट वार्षिक करिब ६१५.३२ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ।
