
फाइल तस्बीर।
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको प्रवर्द्धन, उपभोक्तालाई गुणस्तरीय वस्तुको सुनिश्चितता तथा विदेशी आयातमा निर्भरता घटाउने उद्देश्यका साथ नेपाल गुणस्तर (एनएस) चिन्ह प्राप्त गर्न उद्योगी तथा व्यवसायीलाई आह्वान गरेकी छन्।
मन्त्रालयमा नेपाल गुणस्तर तथा नापतौल विभागकी महानिर्देशक कुमारी ज्योति जोशी तथा विभागका अन्य अधिकारीसँग भएको छलफलमा मन्त्री यादवले नेपालमा उत्पादन हुने वस्तुको गुणस्तर सुनिश्चित गर्न नेपाल गुणस्तर चिन्हको दायरा विस्तार गर्नुपर्नेमा जोड दिइन्।
उनले नेपालमै उत्पादन भएका वस्तुहरूलाई स्वदेशी बजारमा सहज रूपमा बिक्री–वितरण गर्न तथा उपभोक्तामाझ विश्वास बढाउन नेपाल गुणस्तर चिन्ह आवश्यक रहेको बताइन्। यसका लागि सरकारले व्यवसायीलाई आवश्यक प्रोत्साहन दिने तथा गुणस्तर चिन्ह प्राप्त गर्ने प्रक्रियालाई थप सहज बनाउने निर्णय गरेको जानकारी पनि दिइन्।
मन्त्री यादवले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेका वस्तुहरूलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात तथा बिक्री–वितरण गर्न समेत सहज हुने उल्लेख गर्दै त्यसका लागि आवश्यक सम्पूर्ण प्रक्रियामा मन्त्रालयले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
हालसम्म नेपालमा उत्पादन हुने सिमेन्ट, रड, टायरलगायत विभिन्न औद्योगिक उत्पादनले नेपाल गुणस्तर चिन्ह प्राप्त गरिसकेका छन्। पछिल्लो समय नेपालमै उत्पादन हुने सेनेटरी प्याडले पनि नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ।
यद्यपि अझै धेरै उद्योग तथा कम्पनीले नेपाल गुणस्तर चिन्ह प्राप्त गर्न बाँकी रहेकाले आवश्यक प्रक्रिया समयमै पूरा गर्न मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयका अनुसार नेपाल गुणस्तर चिन्हको प्रयोगले स्वदेशी उत्पादनप्रति उपभोक्ताको विश्वास बढाउनुका साथै नेपाली ब्रान्डलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यसबाट विदेशी आयातमा निर्भरता घट्दै स्वदेशी उद्योग तथा उत्पादनलाई थप प्रोत्साहन पुग्ने विश्वास पनि मन्त्रालयले व्यक्त गरेको छ।
