
काठमाडौं । रसुवागढी नाका हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतस्थित प्रसिद्ध तीर्थस्थल कैलाश मानसरोवर जाने धार्मिक पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा यो नाका प्रयोग गरेर १३ हजार ५ सय २३ पर्यटक कैलाश मानसरोवर पुगेका छन्।
अध्यागमन कार्यालय रसुवागढीका अनुसार यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा १८.७५ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०८१/८२ मा रसुवागढी नाका हुँदै ११ हजार ३ सय ८७ पर्यटक कैलाश मानसरोवर गएका थिए।

हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीका लागि पवित्र तीर्थस्थल मानिने कैलाश मानसरोवर पुग्न हुम्लाको हिल्सा नाका तुलनात्मक रूपमा खर्चिलो पर्ने भएकाले पछिल्ला वर्षहरूमा रसुवागढी नाकाको प्रयोग बढ्दै गएको छ।
अध्यागमन कार्यालय रसुवागढीका प्रमुख यादव भण्डारीका अनुसार ल्हेन्दे खोलामा आएको बाढीले २०८३ असार २४ गते नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि केही समय नाका प्रभावित भएको थियो। त्यसपछि चीनले बेलिब्रिज निर्माण गरेपछि पुस महिनादेखि अध्यागमन सेवा पुनः सञ्चालनमा आएको थियो। गत आर्थिक वर्षमा करिब सात महिना मात्र नाका सञ्चालनमा रहे पनि आवागमनमा उल्लेख्य वृद्धि भएको उनले बताए।

आर्थिक वर्ष २०८२/८३ मा रसुवागढी नाका प्रयोग गरेर कुल ५३ हजार ७ सय ४२ जनाले नेपाल–चीन आवतजावत गरेका छन्। यसमध्ये २७ हजार २ सय ९३ जना नेपाल भित्रिएका छन् भने २६ हजार ४ सय ४९ जना नेपालबाट बाहिरिएका छन्।
अघिल्लो आर्थिक वर्षको तुलनामा यो नाका प्रयोग गर्ने यात्रुको संख्या २०.७४ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा ४४ हजार ५ सय ९ जनाले यो नाका प्रयोग गरेका थिए।

कैलाश मानसरोवर जाने यात्रुहरूमध्ये भारतीय पर्यटकको संख्या सबैभन्दा धेरै रहेको छ। गत आर्थिक वर्षमा २४ हजार २ सय ७८ भारतीयले रसुवागढी नाका प्रयोग गरेका छन्। त्यसपछि १० हजार २ सय ५७ नेपाली, ६ हजार २७ चिनियाँ, ४ हजार २ सय १४ अमेरिकी, १ हजार ५ सय ३४ अष्ट्रेलियाली, ९ सय १७ रसियन, ९ सय ११ मलेसियन, ८ सय ८४ भुटानी, ८ सय १० बेलायती र ४ सय २० क्यानेडियन नागरिकले यो नाका प्रयोग गरेका छन्।

यद्यपि कैलाश मानसरोवरबाहेक तिब्बतको ल्हासा तथा चिनियाँ क्षेत्रको एभरेष्ट बेस क्याम्प भ्रमण गर्ने पर्यटकको संख्या भने घटेको छ। गत आर्थिक वर्षमा रसुवागढी हुँदै ६ सय २६ जना ल्हासा र २२ जना एभरेष्ट बेस क्याम्प पुगेका छन्।
यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा क्रमशः ६७.२० प्रतिशत र ९२ प्रतिशतले कम हो। आर्थिक वर्ष २०८१/८२ मा १ हजार ९ सय ९ जना ल्हासा तथा २ सय ७६ जना एभरेष्ट बेस क्याम्प भ्रमणमा गएका थिए।

