Nepal Purbadhar

‘राइट अफ वे’का कारण रोकिएको गोरखाको घ्याम्पेसालको नयाँ सबस्टेसन सञ्चालनमा


गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकास्थित घ्याम्पेसालमा निर्माण सम्पन्न ३३/११ केभी सबस्टेसन सफलतापूर्वक सञ्चालनमा आएको छ। लामो समयदेखि स्थानीय अवरोध तथा राइट अफ वे (Right of Way) सम्बन्धी समस्याका कारण सञ्चालनमा आउन नसकेको सबस्टेसन चार्ज भएसँगै उत्तरी गोरखाको विद्युत् आपूर्ति थप भरपर्दो र गुणस्तरीय हुने अपेक्षा गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारको संयुक्त लगानीमा उक्त आयोजना निर्माण गरिएको हो।

यस आयोजनाअन्तर्गत डोटी, कैलाली, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, रुपन्देही, नवलपरासी, तनहुँ, गोरखा र म्याग्दीलगायत विभिन्न जिल्लामा ३३/११ केभी सबस्टेसन, ३३ केभी प्रसारण लाइन, ११ केभी फिडर तथा ४०० भोल्ट एलटी वितरण लाइन निर्माण गर्ने कार्यक्रम रहेको छ।

नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले लामो समयदेखि स्थानीय अवरोधका कारण रोकिएको आयोजना सञ्चालनमा आउनु उत्तरी गोरखाका बासिन्दाका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए।

उनका अनुसार सबस्टेसन सञ्चालनमा आएपछि उत्तरी गोरखाका छ वटा गाउँपालिकाका करिब १५ हजार नागरिकले भरपर्दो र गुणस्तरीय विद्युत् सेवा प्राप्त गर्नेछन्।

श्रेष्ठले यस क्षेत्रमा निर्माणाधीन बारपाक–दरौंदी जलविद्युत् आयोजनाबाट उत्पादन हुने १० मेगावाट विद्युत् पनि यही सबस्टेसनमार्फत नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय विद्युत् प्रणालीमा जोडिने जानकारी दिए।

घ्याम्पेसाल सबस्टेसन सञ्चालनमा आएसँगै उत्तरी गोरखाको विद्युत् आपूर्तिमा नयाँ अध्याय सुरु भएको प्राधिकरणले जनाएको छ। यसले स्थानीय बासिन्दाको लामो समयदेखिको गुणस्तरीय विद्युत् सेवाप्रतिको अपेक्षा पूरा गर्नुका साथै क्षेत्रको सामाजिक तथा आर्थिक गतिविधिलाई समेत टेवा पुग्ने विश्वास गरिएको छ।

भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जाराले सबस्टेसन पूर्ण रूपमा सञ्चालनमा आएपछि उत्तरी गोरखाका बासिन्दाले स्थिर र गुणस्तरीय विद्युत् सेवा पाउने बताए। उनका अनुसार यसले गोरखा बजार सबस्टेसनमा पर्ने लोडसमेत घट्ने भएकाले लाइन अवरुद्ध हुने समस्या न्यून हुने अपेक्षा गरिएको छ।


Read Previous

विद्युत् अवरोधको पूर्वसूचना सिधै ग्राहकसम्म पुर्‍याउन प्राधिकरणको अनलाइन केवाईसी अभियान

Read Next

नेपाली ब्रान्ड प्रवर्द्धन गर्न उद्योगमन्त्री यादवको आह्वान, नेपाल गुणस्तर चिन्ह लिन व्यवसायीलाई आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar