
काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ४१ वटा दुईपांग्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरेको छ।
बग्गीखानास्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक समारोहमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भई हराएका तथा पछिल्लो एक महिनाभित्र फेला परेका मोटरसाइकल र स्कुटर सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरिएको हो।
सवारी साधन फिर्ता पाएपछि खुशी भएका सवारीधनीहरूले ट्राफिक प्रहरीलाई खादा लगाएर धन्यवाद व्यक्त गरेका थिए। चोरी भएका सवारी साधन फिर्ता गर्न सफल भएको भन्दै सहभागीहरूले प्रहरीको प्रयासको प्रशंसा गरेका थिए।
ट्राफिक प्रहरीले चोरी भएका सवारी साधनको खोजी तथा नियन्त्रण कार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।
