
तस्बीर : नेपाल फोटो लाइब्रेरी
काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व बकर इद (इदुल जोहा) आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइदै छ ।
राजधानीस्थित कास्मिरी तकिया मस्जिदसहित देशभरका मस्जिद तथा इदगाहमा बिहानैदेखि मुस्लिम समुदायका मानिसहरूको भीड लागेको छ। श्रद्धालुहरूले सामूहिक रूपमा नमाज अदा गर्दै एकापसमा शुभकामना आदानप्रदान गरेका छन् ।
इस्लामिक पात्रोअनुसार १२औँ महिना दिल हिज्जाको १०औँ दिन मनाइने बकर इदलाई मुस्लिम समुदायको महत्वपूर्ण धार्मिक पर्वका रूपमा लिइन्छ । रमजान पर्व (इदुल फित्र) सम्पन्न भएको करिब ७० दिनपछि यो पर्व मनाउने परम्परा छ ।
बकर इदका अवसरमा मक्का–मदिना पुगेर हज गर्नु शुभ मानिन्छ । तर विभिन्न कारणले विदेश यात्रा गर्न नपाएका धेरै श्रद्धालुले आफ्नै स्थानमा बसेर पर्व मनाएका छन् ।
यस पर्वमा अल्लाहप्रति आस्था र समर्पण व्यक्त गर्दै धर्मले जायज मानेका जनावरको कुर्बानी (बलि) दिने परम्परा रहेको छ । धार्मिक मान्यताअनुसार अल्लाहका नबी इब्राहिमले आफ्ना पुत्रलाई कुर्बानी दिन तयार भएको घटनाको सम्झनामा यो परम्परा सुरु भएको विश्वास गरिन्छ ।
कुर्बानी गरिएको मासु गरिब तथा विपन्न परिवार, आफन्त र आफ्नै परिवारबीच बाँड्ने चलन रहेको छ ।
पर्वलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन मस्जिद, इदगाह तथा अन्य धार्मिकस्थलमा आवश्यक सुरक्षा व्यवस्था मिलाइएको थियो ।
पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।
