Nepal Purbadhar

सञ्चारमन्त्री र आइटियु क्षेत्रीय प्रतिनिधिबीच डिजिटल विकासबारे छलफल


काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र संयुक्त राष्ट्रसङ्घअन्तर्गत अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को दक्षिणपूर्व एशिया तथा एशिया–प्रशान्त क्षेत्रका प्रतिनिधि किशोरबाबु येराबल्लाबीच आज शिष्टाचार भेटवार्ता भएको छ।

भेटमा नेपालको डिजिटल प्राथमिकता, समावेशी कनेक्टिभिटी र सूचना प्रविधि विकासबारे छलफल भएको थियो।

आइटियुका प्रतिनिधि येराबल्लाले नेपालले अघि सारेको डिजिटल रूपान्तरण अभियानलाई प्राविधिक, नीतिगत र संस्थागत सहयोगमार्फत सुदृढ बनाउन आइटियु तयार रहेको बताए। उनले डिजिटल पूर्वाधार विस्तार, क्षमता अभिवृद्धि, कानुनी तथा नियामक सुधार र ग्रामीण क्षेत्रमा डिजिटल पहुँच विस्तारमा सहकार्य गर्न सकिने बताए।

मन्त्री डा. तिमिल्सिनाले नेपालले डिजिटल पूर्वाधार विकासलाई सामाजिक समावेशीकरणसँग जोडेर अघि बढाइरहेको र डिजिटल विभाजन घटाउने काम भइरहेको बताए।

उनले दुर्गम तथा भौगोलिक रूपमा जटिल क्षेत्र भएकाले सर्वसुलभ डिजिटल पहुँच विस्तार चुनौतीपूर्ण भए पनि सरकारले यसलाई दीर्घकालीन प्राथमिकतामा राखेको बताए। डिजिटल रूपान्तरण सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै उनले ग्रामीण क्षेत्रमा कनेक्टिभिटी विस्तार गर्ने लक्ष्य रहेको बताए।

भेटमा डिजिटल पूर्वाधार, नीति निर्माण, नियामक सुधार, स्पेक्ट्रम व्यवस्थापन र ग्रामीण कनेक्टिभिटी विस्तारबारे पनि छलफल भएको थियो।

नेपालले डिजिटल अर्थतन्त्र, ई–गभर्नेन्स, अनलाइन सेवा, साइबर सुरक्षा र डिजिटल साक्षरताजस्ता क्षेत्रलाई विकास नीतिको केन्द्रमा राख्दै आएको छ। यसका लागि दूरसञ्चार ऐन संशोधन, डिजिटल हाइवे अवधारणा, स्मार्ट गाउँ कार्यक्रम र सूचना प्रविधि पूर्वाधार विस्तारमा अन्तरराष्ट्रिय सहकार्यबारे पनि चर्चा भएको छ।


Read Previous

निकुञ्जले रोकेका जलविद्युत आयोजनाको काम सुरु गराउन इप्पानद्वारा वनमन्त्रीको ध्यानाकर्षण

Read Next

जेनजी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको अनुसन्धान प्रतिवेदनमा के छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar