Nepal Purbadhar

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकांक र पुँजीकरणमा वृद्धि


काठमाडौं। चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा कारोबार रकम गत वर्षको तुलनामा करिब एक तिहाइले घटेको छ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म दोस्रो बजारमा कुल रु १० खर्ब २८ अर्ब ४७ करोड बराबरको कारोबार भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार रु १४ खर्ब ६५ अर्ब ६६ करोड थियो।

त्यसैगरी औसत दैनिक कारोबार रकम पनि गत वर्षको रु ९ अर्ब ८३ करोडबाट घटेर रु ७ अर्ब ४५ करोडमा झरेको छ। कारोबार भएका धितोपत्रको संख्या २७.२ प्रतिशतले र कारोबार संख्या २९.८ प्रतिशतले घटेको छ।

तर, कारोबार घटे पनि नेप्से परिसूचक र बजार पुँजीकरण भने वृद्धि भएको देखिएको छ। फागुन मसान्तसम्म नेप्से परिसूचक २८२०.४५ विन्दुमा पुगेको छ, जुन अघिल्लो वर्षको २७३६.४९ विन्दुभन्दा उच्च हो।

त्यसैगरी कुल बजार पुँजीकरण ४.४२ प्रतिशतले वृद्धि भई रु ४७ खर्ब ४४ अर्ब ७३ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा बजार पुँजीकरण रु ४५ खर्ब ४३ अर्ब ८१ करोड थियो।

सार्वजनिक विवरणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म डिम्याट खाता खोल्नेको सङ्ख्या ७६ लाख ३९ हजार पुगेको छ, जुन कुल जनसङ्ख्याको २६.२ प्रतिशत हो। गत असारसम्म यो सङ्ख्या ६९ लाख ९७ हजार थियो।

त्यस्तै मेरो शेयर खाताको सङ्ख्या पनि बढेर ६६ लाख १३ हजार पुगेको छ, जुन गत असारमा ५९ लाख ७६ हजार थियो।

दोस्रो बजारमा अनलाइन कारोबारका लागि लग–इन गर्ने लगानीकर्ताको सङ्ख्या पनि वृद्धि भएको छ। फागुनसम्म यस्तो संख्या ३१ लाख ८२ हजार ४६२ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २५ लाख ४९ हजार ६९६ थियो।


Read Previous

हालसम्म ४१ लाख १४ हजार सवारी चालक अनुमतिपत्र र ८ लाख ३१ हजार इम्बोस्ड नम्बर प्लेट वितरण

Read Next

बजेटमा ऊर्जा : उद्यमीका मुद्दा स्वतन्त्र अनुसन्धान निकायले पनि उठायो, पीपीए पुनरावलोकन र आरसीओडीको मुद्दा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar