Nepal Purbadhar

सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सांसदहरूको सुझाव


काठमाडौं। सुर्तीजन्य पदार्थका कारण बर्सेनि करिब ३९ हजारभन्दा बढी नागरिकको ज्यान जाने गरेको भन्दै सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमार्फत यस्ता पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव दिएका छन्।

उनीहरूले नेपालमा हाल सुर्तीजन्य पदार्थमा कर करिब ४० प्रतिशत मात्र रहेको भन्दै विश्व स्वास्थ्य सङ्गठनको सिफारिसअनुसार कम्तीमा ७५ प्रतिशत कर लगाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

सांसदहरूका अनुसार सुर्तीजन्य पदार्थबाट वार्षिक करिब रु ३३ अर्ब राजस्व उठ्ने भए पनि यसले स्वास्थ्य क्षेत्रमा करिब रु ४५ अर्बभन्दा बढीको आर्थिक भार सिर्जना गरेको छ।

त्यसैगरी सुर्तीजन्य पदार्थको प्रयोगबाट करिब ८५ लाखभन्दा बढी नागरिक प्रभावित रहेको र १४ देखि २४ वर्ष उमेर समूहका करिब ८ लाख युवा तथा विद्यार्थी यसको लतमा फसेको तथ्य पनि उनीहरूले प्रस्तुत गरेका छन्।

सांसद कुशुम महर्जनले सुर्तीजन्य पदार्थका कारण नेपालमा प्रत्येक वर्ष ३९ हजारभन्दा बढीको मृत्यु हुने गरेको उल्लेख गर्दै आगामी बजेटमा यस्ता पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न माग गरेकी छन्।

त्यस्तै सांसद गुरुप्रसाद बरालले सुर्तीजन्य पदार्थमा करको दायरा बढाएर यसको प्रयोग घटाउनुपर्ने बताए। उनले भने, “सुर्तीजन्य पदार्थमा भारी कर वृद्धि गरी यसको प्रयोग नियन्त्रण गर्न आवश्यक छ।”


Read Previous

काठमाडौंमा अन्तर्राष्ट्रिय विद्युत तथा प्रविधि प्रदर्शनी “फिन इलेक्ट्रो–टेक २०२६” हुने

Read Next

संसदमा सांसदहरूले उठाए विभिन्न स्थानीय समस्या र नीतिगत माग, कसले के भने?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar