Nepal Purbadhar

बाढीले मनास्लु पदमार्ग अवरुद्ध, लार्केपास यात्रामा रोक


गोरखा। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-४ नाम्रुङमा बूढीगण्डकी र थेराङ खोलामा आएको बाढीले मनास्लु पदमार्ग अवरुद्ध भएको छ। बाढीले पदमार्गमा पर्ने दुई पुल बगाएपछि जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्म मनास्लु पदमार्ग र लार्केपास यात्रामा रोक लगाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार आज बिहान आएको बाढीले दुई पुल बगाएको हो। जिल्ला प्रशासन कार्यालयले यात्राको तयारीमा रहेका तथा यात्रामा रहेका सबैलाई अर्को सूचना प्रकाशित नभएसम्म मनास्लु पदमार्ग र लार्केपासतर्फ यात्रा नगर्न आग्रह गरेको छ।

बूढीगण्डकी र थेराङ खोलामा आएको बाढीले दुई पुलसँगै दुई लघुजलविद्युत् आयोजना समेत बगाएको छ। बाढीबाट हालसम्म मानवीय क्षति भने नभएको सहायक प्रजिअ शर्माले बताए।

पुल बगाएपछि स्थानीय तथा पर्यटकको आवतजावत प्रभावित भएको नाम्रुङका स्थानीय लाक्पा डुन्डुपले बताए। “बाढी पहिरोले हामीलाई सङ्कटमा पार्‍यो। गाउँबाट तल जाने पुल पनि लग्यो, माथि जाने पुल पनि बगायो। कतै जान पनि नमिल्ने भयो,” उनले भने।

दुई लघुजलविद्युत् आयोजना बगेपछि नाम्रुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ। विद्युत् नहुँदा बत्ती, सञ्चार सेवा तथा विद्युत्बाट सञ्चालन हुने अन्य सेवासमेत प्रभावित भएका छन्।

यस वर्षको शरद ऋतुमा मनास्लु हिमाल आरोहणका लागि मात्रै २९ टोलीका ३४८ आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार शरद ऋतुमा हालसम्म विभिन्न हिमाल आरोहणका लागि ३२ टोलीका ३६७ आरोहीले अनुमति लिएका छन्।

मनास्लु पदमार्गमा पर्यटक आवागमन सुरू हुनै लागेका बेला पुल बगाएपछि यस क्षेत्रको पर्यटनसमेत प्रभावित हुने भएको छ। लार्केपासका लागि गएका सयौँ पर्यटक बूढीगण्डकीमाथिको पुल बगाएपछि आवतजावत गर्न नसक्ने अवस्थामा परेका छन्।


Read Previous

तुइन खोलामा माटो कटानका लागि नारायणगढ-मुग्लिन सडक आंशिक बन्द हुने

Read Next

काठमाडौं उपत्यकामा पहिरोको जोखिम अझै बढ्यो- तस्बीरहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar