
चितवन। भोटेकोशीको बाढीमा श्रीमान् बेपत्ता भएको ११ दिनपछि सिन्धुपाल्चोकको तातोपानीबाट गोमा बिक र फूलमाया बिक चितवन आइपुगे। बाढीपहिरोमा परी मृत्यु भएका तथा सनाखत हुन नसकेका शवको तस्बिर हेरेर श्रीमान्को अनुहार पहिल्याउने आशामा उनीहरू शनिबार भरतपुर-१० स्थित उद्योग संघको भवन पुगेका हुन्।

गोमा र फूलमाया जेठानी-देउरानी हुन्। उनीहरूका श्रीमान् पूर्ण बिक र शुकलाल बिक सहोदर दाजुभाइ हुन्। दुवैजना पेशाले चालक थिए। भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उनीहरू बेपत्ता भएका हुन्।
बाढी आउनुअघिको अघिल्लो साँझ अर्थात् भदौ ९ गतेसम्म श्रीमान्सँग फोनमा कुराकानी भएको गोमाले बताइन्। “९ गते बेलुकासम्म कुरा भएको थियो। १० गते त त्यो घटना भइहाल्यो,” उनले भनिन्।

श्रीमान् बेपत्ता भएपछि दुवै परिवारका लागि उनीहरूको खोजी नै सबैभन्दा ठूलो चिन्ता बनेको छ। परिवारको मुख्य आम्दानीको स्रोत श्रीमान् नै भएकाले उनीहरू हराएपछि बालबच्चाको पालनपोषणसमेत कठिन बनेको छ।
“हाम्रो त कमाइदिने, ल्याइदिने उहाँहरू नै हो। हामी त कहीँ गएर कमाएर ल्याउन सक्ने अवस्थामा छैनौँ,” फूलमायाले भनिन्।
श्रीमान्हरूले चलाएको गाडीको नम्बर र साहुको विवरणसमेत आफूहरूलाई थाहा नभएकाले खोजी थप कठिन भएको उनीहरूको भनाइ छ। गाडीधनीले समेत अहिलेसम्म सम्पर्क नगरेको फूलमायाले बताइन्।

श्रीमान्को खोजीमा उनीहरू काठमाडौंका विभिन्न अस्पताल, प्रहरी कार्यालय तथा अन्य सम्भावित स्थानमा पुगिसकेका छन्। चीनतर्फको सीमाक्षेत्रमा जान नपाइने भएपछि चितवनमा सनाखत हुन नसकेका शवका तस्बिर हेर्न आएको उनीहरूले बताए।
“अब त आशा छैन। ज्यूँदो हुनुभएको भए यतिखेरसम्म फोन आउँथ्यो होला। फोन पनि आएको छैन,” फूलमायाले भनिन्।
जिउँदै भेटिने आशा कमजोर हुँदै गए पनि श्रीमान्को शव वा केही अवशेष भए पनि भेटिने आशाले उनीहरू चितवनसम्म आइपुगेका हुन्। उद्योग संघको भवनमा राखिएका शवका तस्बिर हेरे पनि उनीहरूले श्रीमान्लाई पहिचान गर्न सकेनन्।
“फोटो चिनियो भने लास हेर्न मिल्छ कि भनेर अन्तिम चोटि यही हेर्न आएका हौँ,” उनीहरूले भने।

घरमा साना बालबच्चा छाडेर श्रीमान्को खोजीमा भौतारिरहेका उनीहरू अब डीएनए परीक्षणको नतिजाको पर्खाइमा छन्। गोमाका तीन छोरा छन् भने फूलमायाका दुई साना बालबच्चा छन्।
“बालबच्चा छन्, सोधिदिने, खोजिदिने मान्छे कोही छैन। हामी त धेरै हारिसक्यौँ,” गोमाले भनिन्।
उनीहरूले सरकारले डीएनए परीक्षणको प्रक्रिया छिटो पूरा गरिदिन आग्रह गरेका छन्। उनीहरूका अनुसार बेपत्ता श्रीमान्को पहिचानका लागि आफूहरूले डीएनए नमुना दिएका छन्।

“हामीले डीएनए चेक गर्न दिएका छौँ। हामी गरिबको अन्तिम आशा भनेकै त्यही एउटा हो। सरकारले त्यो डीएनए चेक छिटोभन्दा छिटो गरिदियोस्। ढिलो नगरिदिनुहोस्,” उनीहरूले सरकारसँग आग्रह गरे।
यसैगरी, पूर्ण र शुकलालले चलाएको गाडीका साहु तथा उनीहरूको अवस्थाबारे जानकारी भएका व्यक्तिलाई परिवारसँग सम्पर्क गरिदिन अपिल गरेका छन्।
“साहुजीमा अलिकति धर्म छ, मनमा अलिकति दया छ भने हामीलाई सम्पर्क गरिदिनुहोला। हाम्रो नम्बर मिडियामा राखिदिनुहोला,” फूलमायाले आग्रह गरिन्।
भोटेकोशीको बाढीमा बेपत्ता भएका श्रीमान्को खोजीमा चितवनसम्म आइपुगेका गोमा र फूलमायाको आशा अब सनाखत हुन नसकेका शवको पहिचान र डीएनए परीक्षणमा अडिएको छ।

निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी
