Nepal Purbadhar

काठमाडौं उपत्यकामा पहिरोको जोखिम अझै बढ्यो- तस्बीरहरू


काठमाडौं। बर्खायाम सुरू भएसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ। विशेषगरी टोखा र तारकेश्वर नगरपालिकाका डाँडाकाँडा तथा भिरालो क्षेत्रमा पहिरो खस्ने र जमिन चर्किने समस्या देखिन थालेको छ।

लगातारको वर्षाका कारण जमिन कमजोर बन्दै गएपछि सडक तथा बस्ती आसपास पहिरो खस्ने जोखिम बढेको हो। वर्षा अझै जारी रहेकाले थप पहिरो जान सक्ने भन्दै स्थानीयवासी त्रसित छन्।

काठमाडौं उपत्यकामा पहिरोको जोखिम प्राकृतिक कारणसँगै अव्यवस्थित शहरीकरणका कारण पनि बढ्दै गएको छ। डाँडाकाँडा काटेर संरचना निर्माण गर्ने, प्राकृतिक पानीको निकास अवरुद्ध गर्ने, जथाभावी सडक खन्ने तथा भिरालो जमिनमा प्लटिङ गर्ने क्रमले भू-जोखिम बढाएको स्थानीयको भनाइ छ।

टोखा र तारकेश्वर क्षेत्रमा पछिल्ला वर्षमा तीव्र रूपमा बस्ती विस्तार भए पनि भू-जोखिम अध्ययन र आवश्यक पूर्वाधार व्यवस्थापन प्रभावकारी हुन नसक्दा वर्षायाममा पहिरो तथा जमिन चर्किने समस्या दोहोरिने गरेको छ।

स्थानीयवासीले पटक-पटक समस्या जानकारी गराउँदै आए पनि दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायले पर्याप्त ध्यान नदिएको गुनासो गरेका छन्। पहिरो रोकथामका लागि पर्खाल निर्माण, तारजाली लगाउने तथा सडक मर्मत गर्ने काम भए पनि जोखिमको मूल कारण नियन्त्रण हुन नसकेको उनीहरूको भनाइ छ।

विज्ञहरूले जोखिमयुक्त क्षेत्रमा निर्माण नियन्त्रण, भू-प्राविधिक अध्ययन, प्राकृतिक पानीको निकास संरक्षण तथा अव्यवस्थित प्लटिङमा कडाइ गर्नुपर्ने सुझाव दिएका छन्। वर्षा जारी रहने भएकाले उपत्यकाका पहिरो सम्भावित क्षेत्रमा तत्काल अनुगमन र जोखिम न्यूनीकरणका कामलाई प्राथमिकता दिनुपर्ने देखिएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

बाढीले मनास्लु पदमार्ग अवरुद्ध, लार्केपास यात्रामा रोक

Read Next

भोटेकोशीको बाढीले बेपत्ता श्रीमान् खोज्दै चितवन पुगेका गोमा र फूलमाया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar