
काठमाडौं। काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सर्वसाधारण सिलिन्डर लिन घण्टौँसम्म लाइनमा बस्न बाध्य भएका छन्।

काठमाडौंका सिफललगायत विभिन्न क्षेत्रमा रहेका ग्यास वितरण केन्द्रमा सिलिन्डर लिन उपभोक्ताको लामो लाइन लागेको छ। ग्यासको आपूर्ति नियमित नहुँदा विद्यार्थी, श्रमिक तथा डेरामा बस्ने सर्वसाधारणलाई दैनिक खाना पकाउन समस्या भएको छ।
सिराहा घर भई काठमाडौंमा स्नातक तह अध्ययन गरिरहेका एक विद्यार्थीले आफू दुई-तीन दिनदेखि ग्यासको लाइनमा बसिरहेको बताए। उनका अनुसार वितरण केन्द्रबाट एक जनालाई एउटा मात्र सिलिन्डर दिने गरिएको छ।

“२-३ दिनदेखि लाइनमा बसेको छु। एक जनालाई एउटा मात्र दिन्छ। साथीको कोठामा खाना बनाउँछु। अब ग्यास नपाए होटलमै खानुपर्ने अवस्था आउँछ, गाह्रो छ,” उनले भने।
उनका अनुसार ग्यास १७ गतेपछि काठमाडौं आइपुग्ने र त्यसको भोलिपल्ट वा पर्सिपल्ट वितरण गरिने जानकारी आफूले पाएका छन्। ग्यासको अभावले डेरामा बस्ने विद्यार्थी तथा अन्य उपभोक्तालाई खाना पकाउन समस्या भइरहेको उनले बताए।

यस्तै, गौशाला-तिलगंगा क्षेत्रमा बस्ने अस्गर अली पनि शुक्रबारदेखि ग्यासको प्रतीक्षामा छन्। बिहान ७ बजेदेखि लाइनमा बसे पनि आइतबारसम्म आफ्नो पालो नआएको उनले बताए।
“तीन दिन भयो। आज मेरो पालो आउँदैन, पर्सि आउँछ भनिएको छ। सुगम र एभरेस्ट ग्यास पर्सि आउँछ भनिरहेका छन्,” अलीले भने।
डिलरकहाँ ग्यास लिन जाँदा आफू नियमित ग्राहक नभएको भन्दै सिलिन्डर दिन आनाकानी गर्ने गरेको उनको गुनासो छ। “डिलरकहाँ जाँदा ‘तिम्रो कस्टमर छैन, हामीसँग रासन लिँदैनौ, तिमीलाई किन ग्यास दिने’ भनेर भन्छन्,” उनले भने।

आपूर्ति नियमित नहुँदा उपभोक्ताले लामो समय लाइनमा बस्नुपर्ने, पटक-पटक डिलर धाउनुपर्ने र ग्यास नपाए महँगोमा होटलमा खाना खानुपर्ने अवस्था आएको बताएका छन्।
उपभोक्ताले एलपी ग्यासको आपूर्ति सहज बनाउन, वितरण प्रणाली व्यवस्थित गर्न तथा सबै उपभोक्ताले सहज रूपमा सिलिन्डर पाउने व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

तस्बिर : सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी
