
काठमाडौँ । मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका डाँडाकाँडा, खुला मैदान तथा नदी किनारका क्षेत्रमा काँस फुल्न थालेका छन्।
सेता र आकर्षक फूलले ढकमक्क बनेका काँसका झाडीले राजधानीमा शरद ऋतुको आगमनको संकेत दिन थालेका छन्। हावाको मन्द झोक्कासँगै लहरिने काँसका सेता बालाले उपत्यकाका खुला क्षेत्रमा मनमोहक दृश्य देखिन थालेको छ।

काँस सामान्यतया वर्षायाम सकिँदै शरद ऋतु सुरू हुने समयमा फुल्ने गर्छ। नेपालमा यसलाई ऋतु परिवर्तनको प्राकृतिक संकेतका रूपमा समेत लिइन्छ। दशैं-तिहार नजिकिँदै गर्दा गाउँघरदेखि सहरसम्म फुलेका काँसले वातावरणमा छुट्टै रौनक थप्ने गरेको छ।

काठमाडौँका विभिन्न खुला क्षेत्रमा हरियालीबीच फुलेका सेता काँसका फूलले सेतो गलैँचा ओछ्याएझैँ दृश्य देखिन थालेको छ। काँस फुलेसँगै प्राकृतिक दृश्य अवलोकन तथा तस्बिर खिच्न पुग्नेहरूको आकर्षणसमेत बढेको छ।
यद्यपि काँस फुल्न थालेकै आधारमा मनसुन पूर्ण रूपमा समाप्त भएको मानिँदैन। मौसम प्रणालीअनुसार मनसुन बाहिरिने समय हरेक वर्ष फरक हुन सक्छ।

तस्बिर : सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी

