
created by InCollage
गोरखा। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-४ नाम्रुङमा बूढीगण्डकी नदी र थेराङ खोलामा आएको बाढीले दुई पुल र दुई लघुजलविद्युत् आयोजना बगाएको छ। पुल बगाएपछि चुमनुब्रीवासीसँगै मनास्लु क्षेत्रमा पुगेका पर्यटकसमेत समस्यामा परेका छन्।
पहिरोसहित आएको बाढीले मनास्लु पदमार्गमा पर्ने दुई पुल बगाएको स्थानीयले बताए। स्थानीयका अनुसार थेराङ खोलाको बाढीले नाम्रुङबाट मनास्लु क्षेत्रतर्फ जाने पुल बगाएको छ भने त्यसपछि बूढीगण्डकी नदीको बहाव बढ्दा नाम्रुङभन्दा तल जङ्गल क्षेत्रमा रहेको अर्को पुल पनि बगेको हो।
“बाढी पहिरोले हामीलाई जोखिममा पार्यो। गाउँबाट तल जाने पुल पनि लग्यो, माथि जाने पुल पनि लग्यो। कतै जान पनि नमिल्ने भयो,” एक स्थानीयले भने।
बाढीले स्थानीयले प्रयोग गर्दै आएका दुई लघुजलविद्युत् आयोजनामा समेत क्षति पुर्याएको छ। बाढीले भर्खरै निर्माण सम्पन्न भएर परीक्षण प्रसारणमा रहेको १०० किलोवाट क्षमताको आयोजना र लामो समयदेखि सञ्चालनमा रहेको २२ किलोवाट क्षमताको आयोजना बगाएको छ।
१०० किलोवाटको आयोजना निर्माणमा करिब ७ करोड रुपैयाँ खर्च भएको थियो। दुवै आयोजना क्षतिग्रस्त भएपछि विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। विद्युत् नहुँदा बत्ती, सञ्चार सेवा तथा विद्युत्बाट सञ्चालन हुने अन्य सेवा प्रभावित भएका छन्।
पुल बगाएपछि मनास्लु क्षेत्रमा सुरू हुँदै गरेको पर्यटक आवागमनसमेत प्रभावित भएको छ। लार्केपासका लागि पुगेका सयौँ पर्यटक बूढीगण्डकीमाथिको पुल नहुँदा समस्यामा परेको स्थानीयले बताएका छन्।
यसैबीच, पहिरोसँगै आएको बाढीले राति नाम्रुङका चार घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। बाढीले नुर्वु ओङ्ग्याल, ओर्गेन छयोदेन, लाक्पा भुटी र मिङ्मार लामाको घर बगाएको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार बाढी आउँदा गाउँ नै थर्किएपछि स्थानीय भागेर ज्यान जोगाउन सफल भएका थिए। “भूकम्प आएजस्तो गरी गाउँ थर्काएछ। सबै बिउँझिएछन्। बाढी आएको थाहा पाएपछि भागेर ज्यान जोगाएका रहेछन्,” प्रहरीले भन्यो।
