
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण गर्ने कुनै मनसाय नरहेको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री डा. तिमिल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेका हुन् ।
उनले संविधानले दिएको प्रेस स्वतन्त्रताको अधिकार कसैले पनि कुण्ठित गर्न नसक्ने उल्लेख गर्दै प्रेस स्वतन्त्रता स्वच्छन्दता भने नभएको बताए । पत्रकारिताले आफ्नो मर्यादा र सीमालाई कायम राख्नुपर्नेमा जोड दिँदै उनले जिम्मेवार पत्रकारिताबाट सरकारलाई हस्तक्षेप गर्ने अवसर नमिल्ने बताए ।
“प्रेस स्वतन्त्रताको अधिकार संविधान दिएको हो । आज, भोलि र पर्सी कसैले यो अधिकार कुष्ठित गर्न सक्दैन तर प्रेस स्वतन्त्रता स्वछन्दता भने हुँदैन । प्रेसले आफ्नो गरिमा र सीमालाई कायम राख्न सक्नुपर्छ”, मन्त्री डा. तिमिल्सिनाले भने, “प्रेसले आफ्नो गरिमा र सीमालाई कायम गर्दा सरकारले चाहेर केही गर्न सक्दैन । त्यसकारण गरिमा र सीमालाई ख्याल गरेर ढुक्क भएर काम गर्न म पत्रकारिता जगतलाई आग्रह गर्दछु ।”
मन्त्री डा. तिमिल्सिनालेप्रेस काउन्सिल र चलचित्र सेन्सर बोर्डलाई थप सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको पनि बताए । साथै नीति तथा कार्यक्रम र बजेटसम्बन्धी सुझावलाई सरकारले गम्भीरतापूर्वक लिने विश्वास व्यक्त गरे ।
