
खोटाङ । जिल्लाको खानीडाँडा विमानस्थलदेखि याम्खा, रातमाटा, पञ्चमी हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको केन्द्र जोड्ने थामखर्क सडक कालोपत्र गर्ने काम शुरू गरिएको छ।
संघीय सरकार र कोशी प्रदेश सरकारको ५०–५० प्रतिशत लागत साझेदारीमा बहुवर्षीय योजनाअन्तर्गत ३० करोड रुपैयाँ बजेट विनियोजन गरी सडक स्तरोन्नति तथा कालोपत्रको काम अघि बढाइएको हो।
पूर्वाधार विकास कार्यालयका प्रमुख विनम दाहालका अनुसार पवित्रा–गाउँले जेभी, गाईघाट उदयपुरले १७ करोड ४४ लाख १० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेर निर्माण कार्य थालेको छ। सम्झौताअनुसार कम्पनीले दुई वर्ष ११ महिनाभित्र सडक निर्माण तथा अस्फाल्ट पिचको काम सम्पन्न गर्नुपर्नेछ।
आठ किलोमिटर सडक निर्माणसहित कालोपत्र गरिने जनाइएको छ। सडक निर्माण सम्पन्न भएपछि जिल्लाको दक्षिणी क्षेत्रका स्थानीयलाई दिक्तेल बजारसँग सिधा यातायात पहुँच स्थापित हुने र आवतजावत सहज हुने अपेक्षा गरिएको छ।
कोशी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले सोमबार डाँडागाउँमा आयोजित कार्यक्रममा सडक आयोजनाको शिलान्यास गरेका हुन्। उनले विकास निर्माणका काममा ढिलासुस्ती स्वीकार्य नहुने बताए।
हाल साप्सुखोलापारिका साकेला, दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्तेढुंगा र बराहपोखरी गाउँपालिकालाई दिक्तेल बजारसँग जोड्ने यो सडक कच्ची अवस्थामै रहेको छ।
