
काठमाडौं । काठमाडौं । सरकारले आसन्न निर्वाचनका क्रममा घाइते हुने सुरक्षाकर्मीहरूको उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ। बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्याल ले निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी घाइते भए उपचार खर्च राज्यले बेहोर्ने र मृत्यु भए आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने जानकारी दिए।
बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा फागुन २० देखि २२ गतेसम्म देशभर सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ। साथै सरकारले १६औँ योजना कार्यान्वयन कार्ययोजना स्वीकृत गर्नुका साथै कर पारदर्शिता सम्बन्धी ओइसीडी ग्लोबल फोरमको सदस्यता लिन स्वीकृति दिएको छ।
यस्तै चीन सरकारबाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रस्तावित ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान स्वीकार गर्ने र बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना को वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय पनि भएको छ। बीमा ऐन, २०७९ अन्तर्गतका मुद्दा कारबाहीका लागि देशभरका ७७ जिल्ला अदालतलाई तोक्ने तथा न्याय सेवा आयोगको सिफारिसमा दुई उपसचिवलाई न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणीमा पदस्थापन गर्ने निर्णय गरिएको छ।
मन्त्रिपरिषद्ले बेलायतका राजाबाट प्रदान गरिने ‘बीइएम’ उपाधि ग्रहण गर्न हितमान गुरुङ लाई स्वीकृति दिए
को छ भने यातायात क्षेत्र सम्बन्धी सर्वोच्च अदालतका आदेश कार्यान्वयनका लागि गठित जाँचबुझ आयोगको कार्यावधि एक महिना थप गरिएको छ।
त्यसैगरी फ्रान्समा हुने इन्टरपोल सम्मेलनमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की लाई सहभागी हुन अनुमति दिइएको छ। भारतमा हुने रायसिना इनसाइट्स फोरममा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओमप्रकाश जोशीको सहभागिता स्वीकृत गरिएको छ।
बैठकले बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमान को शपथ समारोहमा सहभागी भएको परराष्ट्रमन्त्रीको भ्रमण अनुमोदन गर्नुका साथै संयुक्त राष्ट्रसंघीय महिलाको स्थिति सम्बन्धी आयोगको ७०औँ सम्मेलनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिएको छ।
यसैबीच कलंकी–वसुन्धरा चक्रपथ सुधार आयोजनामा कर छुट दिने, नेपाल रेडक्रस सोसाइटीको तदर्थ केन्द्रीय समितिलाई असार मसान्तसम्म निरन्तरता दिने तथा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रतिनिधिसभा निर्वाचनपछि उपयुक्त समयमा आयोजना गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
ऊर्जा क्षेत्रतर्फ विभिन्न प्रसारण लाइन तथा जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिइएको छ भने नेपाली सेनाका दुई प्रमुख सेनानीको बढुवा तथा दुई महासेनानीको सरुवा गरिएको छ।
यसबाहेक सचिव डा. रामप्रसाद घिमिरे र डा. हरिप्रसाद लम्सालको अनिवार्य अवकाश जानकारी गराउने तथा विशिष्ट श्रेणीका ६ अधिकृतको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ।
