
काठमाडौ ।शहरी विकास मन्त्रालय अन्तर्गतको बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर जडान गरेको छ । ६५ लाख खर्च गरेर यस्ता बेरियर राखिएको हो ।

गत साउन २ गते सम्झौता गरेर ६ ठाउँमा यस्ता बेरियर राखिएको छ। गोकर्ण ब्यारेजभन्दा माथि, गुहेश्वरी नजिक, पशुपतिभन्दा तल तीलगंगामा, मनोहरा र बागमतीको दोभानमा, युएन पार्कमा र कर्मनाशा मिसिने ठाउँ बालकुमारीमा जडान गरिएको छ।

आयोजनाका उपनिर्देशक उद्धव नेपालका अनुसार ट्रास बेरियरले नदीमा तैरिने फोहोरहरु जस्तै प्लास्टिक, प्लास्टिकका बोत्तल, काठका टुक्राहरु, फोम लगायतका तैरिँदै बगेर आउने वस्तुलाई रोक्छ र एकै ठाउँबाट संकलन गर्न सजिलो हुन्छ । परिक्षणको रुपमा यसलाई सुरु गरिएको हो ।

प्रारम्भिक रुपमा प्रभावकारी नै देखिएको उनले बताए । पानीको सतह घटबढ हुँदा बेरियर आफैं तलमाथि हुन्छ । आगामी बर्खा सिजनमा यसले कसरी काम गर्छ त्यो हेरेर थप ठाउँ र नदीहरुमा राख्नेबारे तय गरिने नेपालले बताए ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
भिडियो – नेपाल फोटो लाइब्रेरी




