Nepal Purbadhar

खोकना विवाद थाती राखेर द्रुतमार्ग अघि बढाउन प्रधानमन्त्री कार्कीको निर्देशन, फर्सिडोललाई वैकल्पिक प्रस्थानविन्दु बनाइने


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ–तराई/मधेस द्रुतमार्गको प्रस्थानविन्दु सम्बन्धी खोकनाको विवादलाई थाती राख्दै वैकल्पिक योजनाबाट आयोजना अघि बढाउन निर्देशन दिएकी छन् ।

ललितपुरको खोकनामा धार्मिक तथा सांस्कृतिक सम्पदामा असर पर्ने भन्दै स्थानीय समुदायले चासो व्यक्त गर्दै आएको सन्दर्भमा प्रधानमन्त्रीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला निकायसँग छलफल गर्दै विवादमा अल्झिएर नबस्न र विकल्प खोजेर काम अगाडि बढाउन निर्देशन दिइन् ।

यसअघि गत माघ १३ गते प्रधानमन्त्री कार्कीले निर्माणाधीन द्रुतमार्गको स्थलगत निरीक्षण गरेकी थिइन् । त्यस क्रममा पनि उनले विकास आयोजनामा स्थानीय सरोकारलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै आवश्यक परे प्रारम्भिक विन्दु परिवर्तन गरेर भए पनि राष्ट्रिय गौरवको आयोजना समयमै सम्पन्न गर्नुपर्ने बताइन् ।

आजको छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईँ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ, प्रधान सेनापति अशोकराज सिग्देल तथा सम्बन्धित मन्त्रालयका सचिव र आयोजना अधिकारीहरू सहभागी थिए। नेपाली सेनाले हालसम्मको प्रगति, देखिएका समस्या र सरकारसँगको अपेक्षाबारे प्रस्तुति दिएको थियो।

प्रधानमन्त्री कार्कीले विकास निर्माणका काममा अनावश्यक ढिलासुस्ती नगर्न र विवाद समाधानको प्रयास गर्दै पनि अनिश्चितकालसम्म परियोजना रोकिराख्न नहुने स्पष्ट पारिन् । उनले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गरी जहाँ सहमति जुट्छ त्यहीँबाट प्रस्थानविन्दु कायम गर्नुपर्ने र सम्पन्न खण्ड तत्काल सञ्चालनमा ल्याउनेतर्फ ध्यान दिनुपर्ने बताइन् ।

प्रधानमन्त्रीको निर्देशनअनुसार अब खोकनाभन्दा करिब ३.३ किलोमिटर तल फर्सिडोल क्षेत्रमा टोल प्लाजा निर्माण गर्ने गरी डीपीआर संशोधन प्रक्रिया अघि बढाइने भएको छ। ठूलो लगानीको आयोजना लामो समयसम्म अल्झिँदा आर्थिक भार बढ्ने भएकाले शीघ्र सञ्चालन हुने गरी निकास खोज्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिइन् ।


Read Previous

१५ वर्षदेखि निर्यातमा अग्रस्थानमा फोटोन, ६.५ लाख युनिट बिक्रीसहित विश्व बजारमा मजबुत उपस्थिति

Read Next

नारायणगोपाल चोकमा पैदल यात्रुमाथि दुर्व्यवहार गर्ने जीप चालक प्रहरी नियन्त्रणमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar