
काठमाडौ । मनसुनी वर्षाले देश छोडे सँगसँगै चिसो हावाकाे सिरेटो सुरु भएको छ । यो चिसो माैसमसँगै आएका छन् बसाईँ सर्ने चराहरु । बसाइसराई गरी वर्षेनी १०० भन्दा बढी प्रजातिका चराहरु नेपाल आउने गर्छन । त्यसमा पनि धेरैजसो पानी चरा र हाँसहरु हुन्छन । चिल, बाज, फिस्टे, गिद्ध जस्ता अरु चराहरु पनि उपयुक्त मौसम को खोजीमा नेपाल आइपुग्ने गर्छन ।

हालसम्म ९०० भन्दा बढी प्रजातीका चराहरु नेपालमा अभिलेख भएका छन । कयौं प्रजातीका चराहरु नेपालमा बिश्राम मात्र गरेर अन्य देशहरुमा जाने गर्छन भने कर्याङकुरुङ जस्ता अन्य कयाैं प्रजातीका चराहरु नेपालमा विश्राम नगरी आकाशबाटै भारततर्फ जाने गर्छन ।

जाडो याममा नेपाल आउने चराहरुले कोशी , कर्णाली, नारायणी, राप्ती, फेवा ताल, जगदिसपुर ताल, घोडाघोडी ताल, बर्जु ताल जस्ता ठुला ठुला नदी र पोखरीहरुमा बस्न रुचाउने गर्छन् । हरेक बर्ष जनावरी महिनामा देश वरिपरीका प्रमुख बासस्थानहरुमा बसाईँ सरेर आउने पनि चराहरुकाे गणना हुन्छ र लाखाैंको सङ्ख्यामा अभिलेख गरिन्छ ।

चखेवा, खोया हाँस्, आसिढुँडे, ध्वाँसे फिस्टो, खड्खडे हाँस, सुइरोपुच्र्छे, आदि चराहरु ठुलो सङ्ख्यामा नेपाल आउने गर्छन भने श्वेतमाथा कलहाँस, देवदुत मनितुन्दक, देवहाँस जस्ता चरा भने निकै कम संख्यामा आउने गर्छन् ।

देशका विभिन्न ताल, नदी र स्थानहरु खिचिएका बसाइसराई गरी आएका चराहरू ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।









