
काठमाडौ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगहरुमा जुनसुकै बेला लाइन काट्ने भएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले आइतबारसम्म बक्यौता तिर्न नआउने उद्योगहरुमा जुनसुकै बेला लाइन काटिने बताए । उनका अनुसार अहिलेसम्म १२ वटा उद्योगले बक्यौता तिर्न थालेका छन् । ‘हामी पर्खिरहेका छौं । बक्यौता तिर्न आइरहेकै छन् । नआउनेहरुको जुनसुकै बेला लाइन काटिन्छ,’ सिलवालले भने ।
प्राधिकरणका अनुसार १२ वटा कम्पनीले अहिले बक्यौता तिर्न थालेका छन् । बक्यौता तिर्नेहरुमा बाराको सिमरामा सञ्चालित हुलास स्टील इण्डष्ट्रिज लिमिटेड,अशोक स्टील इन्डष्ट्रिज लिमिटेड, सम्राट सिमेन्ट इन्डष्ट्रिज लिमिटेड, रोल्पा सिमेन्ट लिमिटेड, नव नेपाल प्लास्टिक इन्डिस्ट्रिज, लक्ष्मी स्टील इण्डष्ट्रिज लिमिटेड, हामा आइरन एन्ड स्टील लिमिटेड, सर्वोत्तम सिमेन्ट लिमिटेड, जीवी टेक्स्टाइलका दुई कम्पनी, रबर उद्योग र शुभश्री अग्नि सिमेन्ट रहेका छन् ।

११ उद्योगले पूरै बक्यौता तिरेका छन् । डाबर नेपाल र सुदुरपश्चिम हवाई कार्यालयको धरौटी रकम तानिएको छ ।
६ वटा उद्योगहरुले अदालतबाट स्टे अर्डर ल्याएका छन् । अरिहन्त,पोलिप्याक्स, अरिहन्त मल्टिफाइबर, रघुपति जुट मिल,बाबा जुट मिल,युनाइटेड सिमेन्ट प्रालि र मारुती सिमेन्टले स्टे अर्डर ल्याएका छन् । यी बाहेक सबै उद्योगमा जुनसुकै बेला लाइन काट्न सकिनेछ ।
कसले कति तिर्यो बक्यौता ?
प्राधिकरणका अनुसार हुलास स्टिल इण्डस्ट्रीजले पहिलो किस्ताबापत ५० लाख ४३ हजार रुपैयाँ तिरेको छ । यो उद्योगको १४ करोड १२ लाख रुपैयाँ बक्यौता छ । अशोक स्टीलले ६३ लाख रुपैयाँ बुझाएको छ । यो उद्योगको १७ करोड ५८ लाख रुपैयाँ बक्यौता छ ।
सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले किस्ता तिर्न थालेका छन् । तीनवटै उद्योगले विगतमा किस्ताबन्दीको सुविधा लिई बक्यौता रकम तिर्न सुरु गरेका थिए । तर, २८ किस्ता सुविधा लिएर केही बक्यौता रकम तिरेपछि गत वैशाखबाट किस्ता तिर्न छाडेका थिए ।
सम्राट सिमेन्टले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको थप महसुलको कुल ३ करोड ७७ लाख बक्यौता रकमलाई प्रतिकिस्ता १३ लाख ४९ हजार रुपैयाँ एक मासिक किस्ता हुने गरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट लिएको थियो । उद्योगले चार किस्ता बुझाएपछि गत वैशाखबाट किस्ता बुझाउन छाडेको थियो । उद्योगले एकैपल्ट तीन किस्ताको ४० लाख ४७ हजार रुपैयाँ बुझाएपछि जेठसम्मको किस्ता चुक्ता भएको छ ।
शुभश्री अग्नि सिमेन्टले ९८ लाख रुपैयाँ बक्यौतामध्ये ३ लाख ५५ हजार रुपैयाँ पहिलो किस्ता तिरेको छ ।
स्वीकृत किस्ता सुविधा बमोजिम गत असारबाट असोजसम्म ११ किस्ता बुझाउनु पर्नेमा सात किस्ता मात्र बुझाएको । बाँकी ४ किस्ताको ५३ लाख ९६ हजार रुपैयाँ बुझाउन पुनः पत्राचार गरिएको र उद्योगले उक्त रकम तिरी बाँकी किस्ता नियमित रुपमा तिर्ने बताएको प्राधिकरण, प्रदेश डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख दीपक गौतमले जानकारी दिए ।
यसैगरी, रोल्पा सिमेन्टको ९९ लाख १२ हजार बक्यौता रकमलाई प्रतिकिस्ता ३ लाख ५४ हजार रुपैयाँ एक मासिक किस्ता हुने गरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट लिएको थियो । ६ किस्ता तिरेपछि उद्योगले तिर्न छाडेको थियो । उद्योगले पाँच किस्ताको १७ लाख ७० हजार रुपैयाँ एकैपल्ट तिरी नियमित किस्ता तिर्ने अवस्थामा पुगेको छ । अब उद्योगको १७ किस्ता तिर्न बाँकी छ ।
त्यस्तै, नव नेपाल प्लास्टिक इन्डिस्ट्रिज १२ किस्ताको १ लाख २३ हजार रुपैयाँ तिरेर बक्यौता रकम चुक्ता गरेको छ ।
सिमरा स्थित हामा आइरन एन्ड स्टील इन्डस्ट्रीजले डेडिकेटेड ट्रन्क को कुल बक्यौता ५ करोड ८५ लाख रुपैयाँ मध्ये पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैयाँ बुझाएको छ ।

यस अघी नै बक्यौता तिर्न सुरु गरी बैशाखबाट तिर्न छोडेको परासी स्थित लक्ष्मी स्टीलले पनि किस्ता बापत ८४ लाख ९८ हजार बुझाएको छ ।
त्यसै गरी यस अघि किस्ता बुझाइ बिचमा छोडेको सर्बोत्तम सिमेन्टले ४० लाख बुझाएको छ ।
प्राधिकरणले सार्वजनिक सूचना निकालेर कार्तिक २ गतेसम्मको बक्यौता तिर्ने समय दिएको थियो । समय आइतबार घर्कदैछ ।
कार्यकारी निर्देशक मनोज सिलवालले बक्यौता नतिर्ने उद्योगहरुमा लाइन काट्ने बताए । उनले आजसम्म कुर्ने र तिर्न नआए लाइन काटिने बताए ।